बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका सुनसरीको इटहरीका लालबहादुर विश्वकर्माले सफाइ पाएका छन् । 

उच्च अदालत विराटनगरले मंगलबार लालबहादुर विश्वकर्मासहितका तीन जालाई सफाइ दिएको हो । लालबहादुरलाई ७२ जनाको निर्दोश रहेको बकपत्र गरेपनि ३ करोड बिगो जरिबाना तिर्न नसक्दा सुनसरी जिल्ला अदालतको आदेशमा जेलमा थिए । उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले आज विश्वकर्मालाई बिनाइजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा सफाइ दिएको हो । बिनाइजाजत बैंक तथा वित्तीय कारोबारमा कृष्णबहादुर विश्वकर्मा गजमेर र सीता विश्वकर्मालाई पनि उच्चले सफाइ दिइएको छ । दीपक विश्वकर्माको हकमा भने बिनाइजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा दोषी ठहर गर्दै सुनसरी जिल्ला अदालतकै फैसला सदर गरिएको छ । २०७५ असार २० मा बचतकर्ता सुकमित गुरुङसहित नौजनाले २०७२ सालदेखि इटहरी तरहरामा सञ्चालनमा आएको सिंहदेवी ज्वेलर्सविरुद्ध ५२ लाख ६६ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी हालेका थिए । 

असार २१ गते जिल्ला अदालत सुनसरीमा ज्वेलर्सविरुद्ध अर्को मुद्दा दर्ता भएको थियो । अदालतमा २७५ जनाले १० हजारदेखि १० लाख रुपैयाँसम्म ठगी गरेको भन्दै मुद्दा दिएका थिए ।