इटहरी । इटहरी उपमहानगरपालिकाले चालु शैक्षिक वर्षमा शिक्षा क्षेत्र सुधारका लागि स्थानीय शिक्षा ऐन, २०८० लागु गरेर इटहरीका मेयर हेमकर्ण पौडेल शिक्षा सुधार अभियानमा लागि परेका छन । इटहरीको शिक्षा क्षेत्रलाई व्यापक सुधार आवश्यक भएको भन्दै मेयर पौडेल एक्सनमा उत्रिएका हुन ।

 शनिबार इटहरीमा रहेको ३७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई बोलाएर राजनीति नगर्न मेयर पौडेलले निर्देशन दिएका छन । मेयर पौडेलले सबभन्दा पहिला राजनीतिक दलहरूमा आबद्ध शिक्षकहरूलाई दलको सक्रिय राजनीति गर्ने भए पढाउन छोड्न चेतावनी समेत दिएका छन । ’शिक्षामा राजनीति नहुने हो भने सामुदायिक विद्यालयहरू अझै पनि राम्रो बनाउन सकिन्छ,’ मेयर पौडेल भन्छन् ।

  मेयर पौडेलले शिक्षकहरु समयमा विद्यालय नजाने र समय अवधिभर नपढाउँने गुनासो बढेको भन्दै समयमा विद्यालय नजानेलाई कारवाही गरिने समेत बताए । पोशाक नलगाई विद्यालय आउनेहरुको पोशाक भत्ता समेत कटौती गर्ने मेयर पौडेलको भनाई थियो ।

  आईतबार विद्यालय ब्यावस्थापन समितिका अध्यक्षहरुको भेला राखेर विद्यालय सुधारमा लाग्न निर्देशन दिएका हुन । व्यवस्थापन समितिका सबै अध्यक्षहरुलाई मेयर पौडेलले विद्यालय सुधार्न सबैलाई सक्रिय रुपमा लाग्न मेयर पौडेलको निर्देशन थियो । उपमहानगरले भौतिक संरचना सँगै आवश्यक बजेट विनियोजन गर्न उपमहानगरपालिका तयार छ तर शिक्षामा व्यापक सुधार हुनु पर्यो मेयर पौडेलले अध्यक्षहरु सँग भने ।

 जनता माध्यामिक विद्यालय इटहरीका व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले पाँच बर्ष अगाडी सम्म स्थानीय सरकारको वेवस्तामा रहेको विद्यालयलाई अहिले चासोको साथ हेरेको भन्दै खुसी ब्यक्त गरे । अहिलेको मेयर साबले शिक्षालाई निकै महत्वका साथ हेर्नु भएको छ हामी मेयर साबलाई साथ दिन तयारी छौ अध्यक्ष दंगालले भने ।