साउन महिनामा भक्तजनहरुको भिडभाड हुने सुनसरीमा रहेको ऐतिहासिक धार्मिक क्षेत्र विजयपुर क्षेत्रका मठमन्दिरहरु यस वर्ष भने सुनसान रहेका छन । हरेक चार वर्षमा पर्ने मलमास परेका कारण विजयपुर क्षेत्रका मठमन्दिरहरु सुनसान बन्न पुगेका हुन ।

 मलमासको समयमा पूजाअर्चना गर्नु शुभ नहुने जनविश्वासका कारण साउन महिना लागेपछि विजयपुर क्षेत्रमा भक्तजनहरु आउन छोडेका छन ।  हरेक वर्षको साउन महिनामा लाग्ने पिण्डेश्वर बाबाधाममा लाग्ने  बोलबम मेलाका कारण पनि विजयपुर क्षेत्रमा भक्तजनहरुको भिड लाग्ने गरेको छ  तर पुरुषोत्तम महिना अर्थात मलमासको समयमा भने पूजाअर्चना गर्नु नहुने जनविश्वासका कारण मलमास परेको वर्ष भने विजयपुर क्षेत्र सुनसान हुने गरेको हो । यस वर्षपनि साउन महिनामा विजयपुर सुनसान बन्न पुगेको छ । साउन महिनामा पिण्डेश्वर बाबाधाममा मात्र नभएर विजयपुर क्षेत्रमा रहेका बुढासुब्बा , दन्तकाली लगायतका मन्दिरहरुमा पूजा तथा बली चढाउन आउने भक्तजनहरुको उल्लेखीय भिड लाग्ने गरेको थियो । सधै पूजाअर्चना र बली चढाउनेहरुको  भीड हुने गरेको  बुढासुब्बा मन्दिरमा पनि मलमासका कारण सुनसान बन्न पुगेको छ । साउन महिनामा बली नचढाउने साथै मलमासका समयमा पूजाअर्चना गर्न समेत भक्तजन नआउने गरेका कारण सुनसान बन्न पुगेको बुढासुब्बा मन्दिरका पुजारी पुष्प आले मगर वताउछन ।

अन्य समयमा बुढासुब्बामा मंगलबार र शनिवार पूजाअर्चना सहित बलि चढाउनेहरुको संख्या उल्लेखनीय हुने गरेको छ ।  बुढासुब्बा मन्दिरमा नेपालका विभिन्न ठाउँका साथै छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरु पूजाअर्चना र बली चढाउन आउने गरेका छन ।  मन्दिर क्षेत्रमा पूजा सामाग्री  फूलमाला बेचेर जिविकोपार्जन गर्नेहरु समेत यस वर्ष भक्तजनहरु नआएका कारण आफुहरुको व्यापार  नभएको गुनासो गर्दछन । बुढासुब्बा मन्दिर क्षेत्रमा  धेरै बर्ष अघि देखि पूजा सामाग्री बेन्दै आएकी सर्मिला क्षेत्रीे साउन महिना सुरु भएपछि भक्तजन अत्यान्त न्युन संख्यामा आउने गरेकाले  विक्री कम भएको बताउछिन ।

मलमास नपरेको वर्ष साउन महिनामा विजयपुर क्षेत्रका मठमन्दिरमा जल चढाउन, पूजाअर्चना गर्ने  देश विदेश देखि पनि भक्तजनहरु आउने गरेका भएपनि मलमास परेको वर्ष भने सुनसान हुने गरेको छ ।