दलित महिलाहरुको राजनितिमा पहुँच र आर्थिक आत्मनिर्भरता विषयक कार्यशाला गोष्ठि धनकुटाको हिलेमा सम्पन्न भएको छ । दलित महिला संघ धनकुटाले आयोजना गरेको कार्यक्रममा तीन जना दलित महिला अभियान्ताहरुलाई सम्मान समेत गरिएको हो । सम्मानित हुनेहरुमा दलित महिला संघ धनकुटाकी संस्थापक अध्यक्ष इन्दिरा घले, पत्रकार सरिता बराईली, प्रदेशसभा सदस्य कमला दर्नाल रहेका छन । सम्मानीत दलित महिला अभियान्ताहरुलाई प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली, निरन राई, बिमला दर्नाल, बम विश्वकर्मा लगायतले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन । सो अवसरमा सम्मानीत दलित महिला संघ धनकुटाकी संस्थापक अध्यक्ष इन्दिरा घलेले हरेक क्षेत्रमा दलित महिलाहरुलाई समावेश गर्नु पर्नेमा जोड दिइन ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका मानव शास्त्र विभागका प्रमुख डाक्टर डम्बर चेमजोङ्गले नेपाली समाजको चरित्र र दलित मुक्तिको सवाल विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । दलित र दलित महिलाको विषयक, दलित समुदायको बर्तमान अवस्था र मुक्तिको सवाल, सरकारमा दलित समुदायको उपस्थिति र आगामी कार्यभार लगायतका विषयमा दलित महिला संघ धनकुटाकी  संस्थापक अध्यक्ष  घले, मुक्ति समाज नेपाल केन्द्रिय सचिवालय सदस्य नैन विश्वकर्मा लगायतले शहजीकरण गरेका थिए । समग्र विकासको अवरोध, जातीय तथा लैंगिक विभेद भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा जातिय विभेद व्यवहारिक रुपमा समेत अन्त हुनु पर्नेमा जोड दिएका थिए ।