धरानका मेयर हर्क साम्पाङ आफूले राम्रो गर्न खोज्दा पाइलैपिच्छे मुद्दा लगाएर खुट्टा तान्ने काम भएको भन्दै  गुनासो गरिरहन्छन् ।  प्रत्येक साताजसो अदालतमा उनीविरुद्ध केही न केही मुद्दा परिरहेकै हुन्छ ।


यसरी पर्ने मुद्दाले आफ्नो केही नबिगार्ने बताउँदै आएका उनी हप्तैपिच्छे अदालत धाउनुपर्दा भने दिक्दार बनिसकेका रहेछन् । बिहीबार उच्च अदालत विराटनगर परिसरमा भेटिएका मेयर साम्पाङले त्यो दिक्दारी लुकाएनन् ।( हैन, हर्क साम्पाङसँग चित्तै नबुझेको भए बरु सिंगल भिडौं , फाइट खेलौं ।  ‘यसरी हप्तामा तीनटा मुद्दा लगाउने काम किन गर्नु  म सेवाग्राहीहरूको काम गरेर बस्नु कि अदालत धाएर बिताउनु कार्यकाल )सन्चारकर्मीहरूसँग उनले भने,


मेयर साम्पाङ आफूविरूद्ध परेको एउटा मुद्दाको छलफलका लागि बिहीबार उच्च अदालत विराटनगर आइपुगेका थिए। उच्च अदालतको दुई नम्बर मुद्दा फाँटमा पुगेका उनलाई अभिवादन गर्दै फोटो खिचाउन रहर गर्नेहरूले घेरे । प्रशंसकहरूसँग फोटो खिचाउँदै अघि बढेर मुद्दा फाँटमा पुग्दा थाहा भयो, उनीविरूद्धको मुद्दा न्यायाधीश राजन भट्टराईसहितको इजलासमा परेछ ।मुद्दावालाहरुको तर्फबाट बहस गरिरहेका वरिष्ठ अधिवक्ता रमेश कोइराला न्यायाधीश भट्टराईको नातेदार परेपछि मुद्दा हेर्न नमिल्नेमा गयो । असार ११ लाई अर्को पेसी तोकिएपछि उनले दिक्दारी पोखेका थिए ।


उच्च अदालत विराटनगरका प्रवक्ता ओमराज सुवेदीका अनुसार धरान खानेपानी बोर्डका सदस्यहरूले मेयर साम्पाङसहितका दुई जनाले मात्रै बैठक बसेर निर्णय गरिरहेको भन्दै रोक्न माग गरेर रिट दायर गरेका थिए । उच्च अदालतले यसअघि नै थप निर्णयहरू नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । ‘त्यही अन्तरिम आदेशले निरन्तरता पाउने कि नपाउने भन्ने छलफलका लागि दुवै पक्षलाई अदालतमा बोलाएर छलफल गर्ने तय भएको थियो’, प्रवक्ता सुवेदीले भने ‘तर, न्यायाधीश र वरिष्ठ अधिवक्ता नातेदार भएपछि हेर्न नमिल्नेमा गयो ।’

अदालतबाट यस्तो सूचना पाएपछि उनी सञ्चारकर्मीसँग केहीबेर गफिए । त्यसक्रममा उनले धरानमा आफूले राम्रो काम गर्दा मुद्दा मात्रै लगाउन खोजेर गलत भइरहेको बताएका छन्। ‘खानेपानी बोर्डको बैठकमा सदस्यहरूलाई नबोलाएको निहुँमा मुद्दा परेको रहेछ’, उनले भने ‘जसले मुद्दा हालेका छन्, ती कोही पनि बोर्डका सदस्य होइनन् । अध्यक्ष म हुँ, मैले कसैलाई सपथ गराएकै छैन । ज–जसले जुन संस्थाको तर्फबाट बोर्डमा प्रतिनिधित्व गर्छु भनिरहेका छन्, ती कुनै संस्था अस्तित्वमा छैनन् । अनि मैले कसरी उनीहरुलाई बैठकमा बोलाउने ’


मुद्दा मामिलाले झमेला दिएको बताउँदै उनले ‘बरु साह्रै चित्त नबुझे सिंगल फाइट खेल्न आइज भन्नु म तयार छु’ भन्दै मुद्दा कमजोरहरूले लगाउने र आफूले कहिल्यै कसैलाई मुद्दा नलगाउने पनि बताए । ‘म त सबैलाई माफी मिनाहा गरेर अघि बढौं भन्ने मान्छे हुँ’, उनले भने, ‘भर्खरै मात्रै कोकाहामा लाखभन्दा बढी मानिस उतारेर योजना सफल पारेको, त्यो लेभलको मोटिभेसन गर्ने मानिस हुँ । यस्तो मान्छेविरुद्ध मुद्दा हालेको छ हालेको छ । दिक्क लगाए ।’