विराटनगर : नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले उद्घाटन गरेपछि भारतको बथनाहाबाट छुटेको कार्गो रेल विराटनगर आइपुगेको छ ।

नयाँ दिल्लीस्थित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर बिहीबार कार्गो रेल्वेको उद्घाटन गरेका थिए ।

विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकीसम्म आइपुगेको उक्त कार्गो रेलमा आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको कच्चा सामग्री ल्याइएको छ ।

भारतको बथनाहाबाट विराटनगरको आईसीपी रेलवे स्टेसनसम्म बिछ्याइएको ८ किलोमिटर रेलमार्गमा २०७५ कात्तिक ८ गते रेल सञ्चालनका लागि परीक्षण भएको थियो ।