श्रीलङ्काबाट एक लाख बाँदर चीनमा निर्यात गर्ने सरकारको योजनाको अधिकारकर्मीले विरोध जनाएका छन् ।

श्रीलङ्काका कृषिमन्त्रीले एक लाख लोपोन्मुख टोक मकाक (बाँदर) लाई निजी चिनियाँ कम्पनीलाई निर्यात गर्ने योजना बनाएको घोषणा गरेपछि पशु अधिकारकर्मीले विरोध प्रदर्शन गरेका हुन् । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको लोपोन्मुख वन्यजन्तुको सङ्कटको सूचीमा समावेश गरिएको टोक मकाक श्रीलङ्काको संरक्षित प्रजाति होइन ।

संरक्षणकर्मी र पशु अधिकारकर्मीले चिनियाँ चिडियाखानामा एक लाख बाँदरलाई राख्ने व्यवस्थित चिडियाखाना छन् भन्नेमा आफूहरू विश्वस्त नभएको बताएका छन् । प्रयोगशालामा परीक्षणका लागि बाँदरहरू प्रयोग हुने सम्भावना बढी रहेको उनीहरूको दाबी छ ।

बालीनालीमा क्षति पुर्‍याउने गरेको भन्दै किसानले झण्डै ३० लाख टोक मकाक बाँदरलाई व्यवस्थापन गर्न सरकारी निकायहरूसँग सहयोग माग्दै आएका छन् ।