देशको अर्थतन्त्र संकटको डिलैमा पुगेको विश्लेषण भईरहेको छ । यहिबेला सशष्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्य कोषबाट पैषा बाड्न लागेपछी प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको बर्तमान सरकारको आलोचना शुरु भएको छ । प्रतिपक्षी दलहरुले सरकारको यो निर्णयले देशको अर्थतन्त्र थप संकटमा पर्ने टिप्पणी गर्दै निर्णय फिर्ता लिन आग्रह गरेका छन । स्वयम सत्तामा रहेका दलहरुले समेत यो निर्णयको चर्को विरोध गरेका छन । खासगरी नेपाली कांग्रेसका युवा नेताहरुले यो निर्णयको विरोध गरिरहेका छन । प्रतिपक्षी दल नेकपा एमालेले यो निर्णयको विरोधमा सदनमा आवाज उठाएको छ ।

शुक्रबार एमाले प्रमुख सचेतक पदम गिरीले प्रतिनिधिसभाो बैठकमा आर्थिक संकट भएका बेला राज्यको ढुकुटीको दोहन गर्न खोजेको आरोप लगाएका छन् । पूर्वलडाकुलाई पैसा बाँड्ने सरकारी निर्णयले राज्य कोषको दोहन हुने र एमालेले स्वीकार नगर्ने भन्दै उनले तत्कालीन माओवादी नेतृत्वले ९५ करोड बुझेर लगेको पैसा कहाँ गयो भन्ने विषय अनुतरित नै रहेको भन्दै प्रश्न उठाएका छन् । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत अयोग्य लडाकुलाई राज्य कोषबाट पैषा बाड्ने निर्णयको आलोचना गरेको छ ।

अयोग्य लडाकुलाई पैसा बाँड्ने निर्णयले राज्यकोषको चरम दोहन गर्ने राप्रपाको आरोप छ । लडाकुलाई पैसा बाड्ने निर्णय फिर्ता लिन माग गर्दै नेकपा एमालेको भातृ संगठन युवासंघ नेपालले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई शुक्रबार मात्रै ज्ञापनपत्र बुझाएको छ । तर अर्थमन्त्री डा. महतले भने सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने विषयबारे आफू जानकार नरहेको बताएका छन । उनले अर्थ मन्त्रालयबाट हालसम्म यसबारे कुनै निर्णय नभएको समेत स्पष्ट पारे ।

अयोग्य लडाकु व्यवस्थापनको विषय चालु आर्थिक वर्षको बजेटमा राखिएको भए पनि त्यसबारे अर्थमन्त्रालयबाट कुनै निर्णय नभएको महतको स्पोष्टोक्ति छ । नेकपा माओवादी केन्द्रले भने अयोग्य लडाकुलाई पैसा बाँड्ने निर्णय अहिले नभएको बताएको छ । २०७३ सालमा एमालेबाट अर्थमन्त्री बनेका विष्णु पौडलको पालामा भएको अयोग्य लडाकुलाई पैसा दिने निर्णय अहिले कार्यान्वयन गर्न लागेको माओवादी केन्द्रको दाबी छ । विज्ञहरुले देशको अर्थतन्त्र संकटमा रहेको भन्दै सरकारलाई मितब्ययी बन्न आग्रह गरीरहेका छन । तर यहि बेला अयोग्य लडाकुलाई राज्यकोषबाट पैसा बाड्न थालिएपछी यो निर्णय फिर्ता लिन सत्तारुढ र प्रतिपक्षी दलहरुले दबाब दिईरहेका हुन ।