इटहरी  । इटहरी स्थित एसओएस हर्मन माइनर माध्यमिक विद्यालय इटहरीले कला, प्रविधि तथा विविधता सम्बन्धी प्रदर्शनी गरेको छ । एसओएस हर्मन माइनर विद्यालयका विद्यार्थीहरूको सहभागितामा बृहत् प्रदर्शनी आयोजना गरिएको  हो । सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवबाट समुद्घाटन भएको कला, विविधता र विविधता सम्बन्धी प्रदर्शनी कार्यक्रममा नर्सरीदेखि कक्षा दशसम्मका विद्यार्थीहरूले विविध प्रस्तुति गरेका थिए ।dd प्रदर्शनीले बालबालिकाका रुचि र क्षमतालाई अभिव्यक्त गर्न सहयोग गर्ने हुँदा प्रत्येक वर्ष शैक्षिक क्यालेन्डरमै समावेश गरेर यसखालको कार्यक्रम आयोजना गरिँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा एसओएस बालग्राम इटहरीका निर्देशक देवचरण चौधरीले जानकारी गराए । प्रदर्शनीमा विद्यार्थीहरूले रोबोट, वाटरबोट, खगोल–भूगोल, ज्वालामुखी लगायत विभिन्न एक सय प्रदर्शनी राखेका थिए । प्रदर्शनीमा अभिभावकहरू, इटहरीका विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षक, व्यवस्थापन समितिका सदस्य एवम् अभिभावक प्रतिनिधि तथा स्थानीयवासीहरूले समेत अवलोकन गरेका थिए । इटहरी लगायत देशभर सात ठाउँमा सञ्चालन भएको हर्मन माइनर स्कूल गुणस्तरीय शिक्षामा अब्बल मानिँदै आएको छ । आश्रयहीन बालबालिकाको आवासीय हेरचाहसहित समुदायका बालबालिकालाई पनि शिक्षा दिँदै आएको एसओएस हर्मन माइनर विद्यालय विश्वभर १ सय ३५ देशमा सञ्चालनमा रहेको छ । प्रदेश नं. १ मा इटहरी बालग्राममा सञ्चालित यस विद्यालय सबैको आकर्षणको केन्द्र बन्ने गरेको छ ।