काठमाण्डौ । छठ पर्वका लागि धनुषाको जनकपुरमा तीन करोडको भारतीय केरा भित्रिएको छ ।  छठ पर्वका लागि केरा अत्यावश्यक मानिन्छ । स्वदेशी उत्पादनले माग धान्न नसक्दा भारतीय केरा भित्रिएको हो । छठ पर्वमा सिङ्गै केराको घरी नै चढाउने परम्परा छ । त्यसैले केराको माग उच्च हुन्छ ।

स्वदेशी उत्पादन कम हुँदा हरेक वर्ष भारतको भर पर्नुपर्ने अवस्था रहेको जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विषेश्वर यादवले बताए । छठका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै तीन करोड बराबरको केरा आयात भएको छ ।  अघिल्लो वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए।

जनकपुरमा गोपाल र वंशीभोग केरा नेपालको सप्तरीका भारदह, भन्टावारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चम्पा केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको छ । बजारमा घरीलाई पाँच सयदेखि एक हजार मूल्यमा बिक्री गरिन्छ ।