काठमाडौं । चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) लाई फेसबुकको संचालक कम्पनी मेटाले निष्क्रिय बनाएको छ । फेसबुकको ‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको भन्दै मेटाले उक्त ग्रुपलाई निष्क्रिय गराएको हो ।

सुरुमा युवाका सरोकार र रमाइला प्रसंगमा रुचि राख्ने एमआरआर पछिल्ला दिनमा राजनीतिक एजेन्डाहरुमा प्रवेश गर्न थालेपछि चुनावको मुखमा यसलाई निष्क्रिय बनाइएको यो ग्रुपका संचालकले आकलन गरेका छन् ।

यसका एकजना एडमिनले फेसबुक एआईले एमआरआरलाई निष्क्रिय गराएको जानकारी दिएका छन् । 

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले मेटा कम्पनीका प्रतिनिधिहरुसँग घृणा फैलाउने खालका पोष्ट रोक्ने विषयमा छलफल गरेको थियो । कतिपयले यो कार्य उक्त छलफलसित समेत जोडिएको हुनसक्ने ठानेका छन् ।  उक्त ग्रुपलाई अहिले पुनः निष्क्रिय बनाउन ‘रिभ्यु रिक्वेस्ट’ गरिएको संचालकले जनाएका छन् ।

यसमा  ठूलो संख्यामा युवाहरु समावेश भएको ग्रुप भएकाले यसले आगामी मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई पनि कुनै न कुनै रुपले प्रभावित पार्न सक्ने अनुमान निर्वाचन आयोगका पदाधिकारीहरुले गरेका थिए ।