धरान । ऐतिहासिक तथा धार्मिक महत्व बोकेका मठमन्दिरहरुको संरक्षण तथा जिर्णोद्धार गर्दा ध्यान नदिने हो भने  ऐतिहासिक महत्व हराउने जोखिम हुने गर्दछ । यस्ता सम्पदाहरुको संरक्षण र जिर्णोद्धार गर्दा ऐतिहासिक महत्व हराउन नदिन सचेतना अपनाउनु पर्दछ । कतिपय अवस्थामा सचेतना नअपनाइदा ऐतिहासिक महत्व हराउने खतरा वढ्ने गरेको छ । यस्तै सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १४ विजयपुरमा  रहेका मठमन्दिर क्षेत्रमा  जथाभावी रुपमा गरिएका अन्य संरचना निर्माण र  जिर्णोद्धार गर्दा पुरानो स्वरुपलाई ध्यान दिएको देखिदैन । 

धरान उपमहानगरपालिका वडा नम्बर १४ ऐतिहासिक धार्मिक महत्व बोकेको क्षेत्र हो । यहाँ देवकालिन समयसंग मिथक जोडीएका मठमन्दिरहरु समेत रहेका छन । देवकालिन समयमा समुन्द्र मन्थन गर्दा निस्कीएको पिण्ड रहेको पिण्डेश्वर बाबाधाम , सतीदेवीको दन्त पतन भएको क्षेत्रमा दन्तकालि ,हिन्दु तथा किराँत धर्मालवम्बीहरुको आस्थाको केन्द्र बुढासुब्बा , पञ्चकन्या जस्ता धार्मिक महत्व बोकेका मठमन्दिरहरु रहेका छन ।

पुरातात्विक महत्व राख्ने विजयपुरमा रहेका मठमन्दिरहरुलाई पुनर निर्माण तथा जिर्णोद्धार मर्मत संभार गर्दा ध्यान नदिने गरिएको कारण ऐतिहासिक स्वरुप परिर्वतन हुने हो की भनेर खतरा वढ्न थालेको छ ।

 पिण्डेश्वर मन्दिरमा रहेका मुर्तिहरु दुई सय वर्ष पुराना रहेको र एक जोडी घण्टीहरु पनि सोही समयमा रहेको उल्लेखित छन । तर पछिल्लो समयमा यस्तो ऐतिहासिक महत्व बोकेका मुर्ति र घण्टी जीर्ण बन्दै गएको पिण्डेश्वर क्याम्पसका ज्योतिष शास्त्रका प्राध्यापक अमरराज ढकाल वताउछन ।download (2) 11

ऐतिहासिक महत्व बोकेको पिण्डेश्वर मन्दिर अगाडी नै जथाभावी रुपमा ट्रष्ट लगाउने, मन्दिर आसपासमा मन्दिर छेकिने गरी व्यापार व्यवसाय समेत गरिदै आएको छ । पहिलो पटक आउने भक्तजनहरु अन्योलमा पर्ने गरेका छन ।  

मन्दिर क्षेत्रमा  भक्तजनहरुको सुविधाका लागि निर्माण गरिने संरचना पनि पुरातात्विक विभागसँग समन्वय नगरी मन्दिर छेक्ने गरिने वनाइने तथा जिर्णाेद्धार र रंगरोगन गर्दा पनि ध्यान नदिने गरिएको मन्दिरका पुजारी विनोद घिमीरे वताउछन ।

धरान उपमहानगरपालिका वडा नम्बर १४का  वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले पछिल्लो समय दाताहरुले भौतिक संरचना वनाउदा तथा रगंरोगन गर्दा ध्यान नदिने गरेको कारण मन्दिरको पुरातात्विक महत्वलाई असर पुर्याई रहेको स्वीकार गर्दै पुरातत्व विभागसंग छलफल र समन्वय गरी स्थानीय सरकार मन्दिर व्यवस्थापन समिति मन्दिर संरक्षणमा जुट्ने जानकारी दिए ।

हिन्दु धर्मशास्त्रमा उल्लेख भए अनुसार समुन्द्र मन्थनबाट निस्कीएको अमृतको पिण्ड राखिएको पवित्र धार्मिक क्षेत्र पिण्डेश्वर लगायतका मठमन्दिरहरुको  ऐतिहासिक महत्व कायम राख्दै संरक्षण गरिए आन्तरिक तथा वाह्य धार्मिक पर्यटकहरुलाई थप आकर्षण गर्ने देखिन्छ ।