उर्लाबारी । संघीय शिक्षा ऐन विपरीत उर्लाबारी नगरपालिकाले नगर शिक्षा विधेयक ल्याउन खोजेपछि वडाध्यक्षहरुले विरोध गरेका छन् । कार्यपालिकाको बैठकमा-४ वडाध्यक्षहरुले असहमति जनाएका हुन् ।

संघीय शिक्षा ऐनसँग बाँझिने गरी नगर शिक्षा विधेयक अघि बढाउन नहुने भन्दै नेपाली कांग्रेसबाट निर्वाचित उर्लाबारी वडा नं. २ का वडाध्यक्ष राजनकुमार कँडेल, ४ का वडाध्यक्ष कल्याण राई, ६ का वडाध्यक्ष चिन्तामणि पौडेल र वडा नं. ९ का वडाध्यक्ष नरबहादुर मोक्तानले विरोध जनाएका हुन् ।

उनिहरुले पत्रकार सम्मेलन नै गरेर संघीय शिक्षा ऐन विपरीत आफु खुशी एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बहुमतको दम्भ देखाएर नगर शिक्षा विधेक कार्यपालिकाबाट पास गराएको जानकारी दिए । 

बुद्धिजिबी, जग्गादाता, चन्दादाताबाट २ जनालाई कार्यपालिका छनौट गर्ने, दरबन्दी मिलान गर्न सक्ने भएपनि शिक्षक सरुवा गर्ने, संघीय ऐनमा ११ जना सञ्चालक समितिमा थपेर १३ जना बनाउने, कार्यपालिकाले सञ्चालक समिति विगठन गर्ने सक्नेलगायत विषयमा विमति रहेको वडाध्यक्ष चिन्तामणि पौडेलले बताए । ‘शिक्षाको मन्दिरमा राजनीति अखण्डा बनाउनु हुँदैन भन्ने हाम्रो मान्यता हो’ पौडेलले भने-‘संघीय शिक्षा ऐनसँग बाँझिदा विगतमा समस्या उत्पन्न भएको थियो, अब फेरि त्यही दोर्‍याउन खोजिएको छ ।’ जवरस्ती नगर शिक्षा विधेयक लाद्न खोजे त्यसविरुद्ध सशक्त लाग्ने वडाध्यक्षहरुको भनाई छ । कार्यपालिकामा एमालेका जनप्रतिनिधिहरुको बहुमत छ ।