इटहरी । यस वर्ष सञ्चालित माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका जाँच्ने जिम्मा सम्बन्धित प्रदेशलाई दिइने भएको छ । प्रदेशले विद्यार्थीको प्राप्ताङ्क सफ्टवेयर मार्फत राष्ट्रिय परीक्षा बोर्डमा पठाउने र बोर्डले रुजु गरी नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । 

यो वर्ष प्रदेश परीक्षा समिति बनाएर परीक्षा सञ्चालन, अनुगमन, निरीक्षण, परीक्षा केन्द्रका मापदण्डहरु निर्धारण, उत्तरपुस्तिका संकलन, परीक्षण, अंक चढाउन सक्ने अधिकार बोर्डले प्रदेशलाई दिएको हो । 

पाठ्यक्रममा आधारभूत तहको अन्तिम परीक्षा स्थानीय सरकारले, कक्षा १० को अन्तिम परीक्षा प्रदेशले र कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने भन्ने उल्लेख छ । तर यस अनुसार शिक्षा ऐन संशोधन नभएकाले प्रश्नपत्र बोर्डले बनाउने र प्रदेशलाई पनि केही अधिकार दिने गरी काम गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

उनले भने ‘ऐन परिवर्तन नभएसम्म पाठ्यक्रमले भने अनुसार हुँदैन । तर, प्रदेशलाई पनि अधिकार दिनुपर्छ भनेर हामीले नियमावली बनाएर प्रदेशलाई जिम्मेवारी दिएका छौं ।’

बोर्डले केही दिनभित्रै प्रत्येक प्रदेशमा विद्यार्थीको प्राप्ताङ्क चढाउनको लागि विशेष सफ्टवेयर जडान गर्ने तयारी भइरहेको जनाएको छ । परीक्षाको नतिजा असार मसान्तसम्म निकाल्ने गरी काम भईरहेको बोर्डको भनाइ छ ।