ईटहरी : ईटहरी स्थित मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलमा विद्यार्थीका लागि सातामा एकदिन विद्यार्थीहरुका लागि संस्कृतिक पोसाक लागू गरेको छ ।

इटहरी उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको उक्त विद्यालयले आफ्ना विद्यार्थीलाई आफ्नो समुदायको भेष–भूषा र संस्कृति प्रति अभ्यस्त बनाउँदै आफ्नो मौलिक पन प्रति गौरब गर्न सिकाउने उद्देश्यले ‘आफ्नै समुदायको संस्कृतिक पोसाक लागू गरेको’ जनाएको हो ।

त्यसकालागि विद्यार्थीहरुलाई ऐच्छिक रुपमा आ(आफ्नो सांस्कृतिक पोसाकमा विद्यालय आउन सूचना जारी गरेकोमा शुक्रवार उत्साहजनक रुपमा विद्यार्थीहरु सहभागी भएको विद्यालयले जनाएको छ ।

प्रत्तेक शुक्रबार विद्यार्थीका लागि आफ्नो संस्कृति झल्कने मौलिक पोसाक लगाएर आउन विद्यालयले निर्देशन गरेको हो । अरू दिन भने विद्यालयको नियमित पोसाक नै लगाउनुपर्छ । प्रत्येक शुक्रवार विद्यार्थीहरु आफ्नो मौलिक पोसाकमा आउने र शिक्षकहरूमा पनि बिस्तारै यसलाई लागू गराइने प्रिन्सिपल भीम बहादुर श्रेष्ठले बताए ।

विद्यालय संचालक समितिका अध्यक्ष संजीव वाग्लेले नेपालका विभिन्न क्षेत्रमा अनेकौँ जाती जनजाती, संस्कृति परम्परा, सामाजिक मान्यता रहेको बताउँदै विद्यालय तहदेखि नै संस्कृति झल्कने पोसाक लगाए समावेशीको सिद्धान्तलाई समेत मलजल पुग्ने बताए ।

विद्यालयमा कक्षा ९ अध्ययरत छात्र शुभम श्रेष्ठले आफ्नो भेष(भूषाप्रति गर्व रहेको बताए । उनी दौरा, सुरुवाल, पटुका र टोपीमा सजिएर आएका थिए । विद्यालयमा अध्ययनरत छात्रा  रितिक्षा विश्वास र अंकिता कुमारी चौधरी, प्रमिसा श्रेष्ठ लगायतका विद्यार्थीहरु पनि आफ्नो पहिरनमा विद्यालय आउन पाउँदा निकै खुसी देखिएकी थिए ।

विद्यालयमा तामाङ, मगर, क्षेत्री, बाहुन, नेवार, भुजेल, चौधरी, साह, गुप्ता लगायत जातजातिका विद्यार्थी अध्ययनरत छन् ।

IMG_7862