उर्लाबारी । उर्लाबारीका विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन गर्न नदिन विभिन्न झन्झट सिर्जना गरिएको छ । 

विभिन्न मितिमा व्यवस्थापन समितिको गठन गर्ने सूचना जारी गरिएपनि केही व्यक्तिहरुले अदालतमा मुद्दा हालेर गठन प्रक्रिया रोकिदिने गरेका छन् ।

आज (शुक्रबार) उर्लाबारी-७ स्थित राधिका माविमा व्यवस्थापन समिति गठन गर्ने कार्यक्रम रहेपनि विहिबार उच्च अदालत विराटनगरले समिति गठन प्रक्रिया यथास्थितिमा रोक्न अन्तरिम आदेश जारी गरेको छ । 

यसअघि पनि उर्लाबारीका इन्द्रकुमार योञ्जन तामाङले रिट हालेपछि व्यवस्थापन समिति गठन प्रक्रिया रोकिएको थियो । उक्त रिटमाथी तामेली फैसला भएको थियो । 

तामेलिमा फैसला भएपछि पुनः राजेन्द्रप्रसाद पौडेलको नामबाट उच्च अदालत मोरङमा निवेदन परेपछि निवेदक पौडेलको निवेदनका आधारमा अदालतले दुवै पक्षको छलफलका लागि फागुन १२ गतेलाई पेशी तोकिदिएको छ । 

शिक्षा ऐन २०२८ प्रतिकूल हुनेगरी उर्लाबारी नगरपालिकाले शैक्षिक व्यवस्थापन कार्यविधि २०७५ बनाएको भन्दै उनीहरुले व्यवस्थापन समिति गठनमा बारम्बार अवरोध गरिरहेका छन् । 

विद्यालय व्यवस्थापनका लागि नगरको कार्यपालिका बैठकबाट पारित भएको कार्यविधिको विरुद्ध लाग्नु नगरपालिका र नगर प्रमुखलाई दुःख दिने नियत देखिएको उर्लाबारीका एक शिक्षक बताउँछन् ।  लामो समयदेखि व्यवस्थापन समिति गठन हुन नसक्दा विद्यालय व्यवस्थापनमा समस्या हुँदै आएको छ । 

नगर कार्यपालिका र नगर सभाबाट पारित भएको कार्यविधिमाथि धावा बोल्नु उपयुक्त नहुने एक कार्यपालिका सदस्यले बताए । उनले उजुरीकर्ताहरुको नियतमाथि प्रश्न चिन्ह खडा हुने बताए ।