उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाको न्यायीक समितिमा ५ वर्षको अवधिमा ६ सय ५० वटा महिला हिंसाका उजुरी दर्ता भएका छन् ।

बिहिबार नगरपालिकामा महिला हिंसाका घटना, महिला बिकास सम्बन्धि भइरहेका कार्यक्रमका बिषयमा राष्ट्रिय महिला आयोगको अन्तरक्रिया कार्यक्रममा हाल सम्म भएका महिला हिंसाको घटना बारेको तथ्याङ सार्वजनिक भएको हो ।

न्यायीक समितिमा धेरै जसो, घरेलु हिंसा, घर जग्गा किचलो, सम्बन्ध बिच्छेद, लेनदेनका समस्या आउने गरेको र समितिको मातहतमा रहेर समाधान गर्न सकिने उजुरीहरुको समितिकै परामर्शमा मेलमिलापको माध्यमबाट समाधान गरीएको र अन्य लाई अदलती प्रक्रियाबाट समाधान खोजिएको उर्लाबारी नगर उप-प्रमुख एवम न्याययिक समति संयोजक लक्ष्मिदेवी भण्डारीले राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुलीलाई जनाकारी गराएकी थिइन् । 

यसै क्रममा आयोगकी अध्यक्ष पराजुलीले नगरपालिकाले महिलाको क्षमता अभिवृद्धि सम्बन्धी काम कसरी गरिरहेको छ, न्यायिक समितिले कसरी कार्य सम्पादन गरिरहेको छ भन्ने बिषयमा जानकारी लिएकी थिइन् । 

कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएकी उनले नीति कानुनमा व्यवस्था भए अनुसारको महिलाका हक अधिकारहरु कसरी कार्यान्वयन भएको छ/छैन भन्ने बारेमा पनि जानकारी लिएकी थिइन् ।

कार्यक्रममा उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले स्थायिन सरकार गठन भै सके पछि कानुनको परिधिभित्र रहेर नगरको स्रोत र साधनले भ्याएसम्म महिलाको क्षेत्रमा काम गर्दै आएको बताए । 

कार्यक्रममा मेयर फागोले महिलाहरुको क्षमताअभिबृद्धिका लागि नगरपालिकाले विभिन्न सिपमुलक र घरमै रहेर आर्थिक उपार्जन गर्न सकिने तालिमहरु समेत  गदै आएको बताए । 

साथै उनले गठन भएका बिभिन्न आयोगले हकअधिकार सुनिश्चित भए नभएको समय समयमा अनुगमन गरिरहन आग्रह समेत  गरेका छन् । 

महिला बालबालिका जेष्ठ नागरिक तथा सामाजिक बिकास शाखा प्रमुख चन्द्रकला सुब्बाले यस आर्थिक बर्षमा नगरले महिलाको क्षेत्रमा ३७ लाख ७ हजार बजेट विनियोजन गरेको जानकारी दिइन् ।

महिला शाखाले नगरका विभिन्न वडामा रहेका बिपन्न, सुकुम्बासी, दलित समुदायका महिलाहरूलाई एकिकृत गरि ७९ वटा महिला समूह बनाएको जानकारी गराएकी थिइन् । 

समूहमा रहेका महिलाहरुलाई नगर, वडाले केही बीउ पूँजी उपलब्ध गराइ बचत गर्न सिकाउने, उनीहरूको नेतृत्व, व्यक्तित्व बिकाशका लागि तालिम, गोष्ठी संचालन गर्दै आएको शाखा प्रमुख सुब्बाले बताइन् । 

नगरपालिकाको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा उर्लाबारी नगरपालिकाका महिला वडा सदस्यहरुको उपस्थिति रहेको थियो । 

उर्लाबारी नगरपालिकाको प्रमुख लक्ष्मी देवी भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रम नगर न्यायिक समिति सदस्य निरोज तिम्सिनाले सञ्चालन गरेका थिए ।