पथरी । धनप्रतिको लोभ अनि निच सोच र क्रुर मानसिकताले मानिसको दिमागमा जरा गाडेपछि मान्छेले जस्तोसुकै अपराध गर्न पनि पछि पर्दैन भन्ने उदाहरण मोरङको पथरीशनिश्चरेमा घटेको एउटा घटनाले देखाएको छ । 

गत माघ १२ गते देखी आफ्नै घरबाट बेपत्ता बनेकी मोरङ पथरीशनिश्चरे-२ की ९० बर्षीय जगमाया श्रेष्ठ बेपत्ता भएको ६ दिन पछि आफ्नै छोराले घरमै हत्या गरी जंगलमा लगेर जलाएको घटना पुष्टी हुदा आफन्त र गाउनै त्रसित बनेको छ । 

जग्गा सम्बन्धिको मुद्धामा अदालतले आफनी ९० बर्षिया आमालाई पाँच कठ्ठा जग्गा दिनुपर्ने फैसाल सुनाएपछि रिसको आवेगमा मोरङको पथरीशनिश्चरे नगरपालिका-२ का ४८ बर्षीय कमल श्रेष्ठले आमाको हत्या गरी शव जलाएको पुष्टि भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

मृतक जगमायाकी बुहारी गिता श्रेष्ठका अनुसार कान्छो छोरा कमल श्रेष्ठसग बस्दै आएकी सासुआमा सवेरै विहान उठेर दैनिक जसो मर्निङवाकमा जाने गर्थिन, उनको यो दैनिकी नै थियो । 

पारिवारिक कलहका कारण कमल श्रेष्ठको भने आफ्ना दाजुभाइकोमा बोलचाल र आउजानै बन्द थियो ।  तर १३ गते विहिवार विहान जयमायाका दाजुको मृत्युको खवर आएपछि  मलामी जाने क्रममा आमाको खोजीहुदा आमा मर्निङवाकमा गएको भनेर कमल आफैले आएर जानकारी दिएको उनी बताउछिन् ।

आफ्नै दाजुको मलामिमा दिदि जगमाया नपुगेपछि परिवारमिलेर आमाको खोजीगर्दा आमा बेपत्ता भएको भनि इलाका प्रहरी कार्यालय पथरीमा माघ १४ गते निवेदन परेको थियो । 

निवेदन दार्ता गर्दा सम्म कमल श्रेष्ठले आफुलाई ४ दिनको म्याद दिए आमा खोजेर दाखिाला गर्ने बचन दिएका थिए ।

तर यस विचमा उनले आमालाई खोजेर दाखिला गर्न सकेनन् । यता प्रहरीले जगमाया माघ १२ गते देखी घरैबाट एक्कासी हराएपछी उनको हत्या भएको हुनसक्ने बाहिरी कुराको सुइँको पाइसकेको थियो । 

प्रहरीमा यस्तो सुचना पुगेपछि प्रहरीले जगमायाको खोजी गर्दै कमल श्रेष्ठमाथी शुक्ष्म रुपले अनुसन्धान गरिरहेको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले माघ १२ गते विहान झिसमिसेमा कमल श्रेष्ठ जगलबाट फर्किदै गरेको देख्ने केही व्याक्ति समपर्कमा आएपछि कमल र सो व्याक्तिहरुको प्रत्यक्ष उपस्थितीमा वयान लिदा कमलले आमाको हत्या गरी जंगलमा लगेर जलाएको स्विकार गरेको प्रहरीले जनाएको छ ।

उनले बयानका क्रममा आफुले आमालाई घरमै घाँटी थिचेर मारेको र विस्कुन सुकाउने त्रिपालमा बेरी साइकलमा राखेर हरियाली सामुदायिक वनको समाधीघाटमा लगेर जलाएको वयान दिएको इलाका प्रहरी कार्यालय पथरीका डिएस्पी कृष्ण खड्काले बताए । 

घटना पश्चात श्रेष्ठको निच सोचका कारण आफुहरु पनि असुरक्षित रहेको भन्दै उनका आफ्न्तहरुले उनलाई कडा कानुनी कार्वाहीको माग गर्दै हत्यामा समलग्नको परिवार बाट आफुहरु पनि असुरक्षित रहेको मृतककी बुहारी गिता श्रेष्ठको माग रहेको छ ।

यस्तै मृतक जगमायाकी नातिनी सविना श्रेष्ठका अनुसार पक्राउ परेका श्रेष्ठले यसअघि बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाईहरुलाई समेत थाहा नै नदिई आफ्नो श्रींमतीको नाममा बनाएको र सो बिषयमा आमा लगायत अन्य भाईहरुले थाहा पाएपछि अदालतमा मुद्धा परेको बताइन् । सोही ईखका कारण उनले हजुरआमाको हत्या गरेको हुन सक्ने बताइन ।

यता प्रहरीले पनि घटनाको मुख्य कारण अदालतले सो जग्गा मध्ये ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला सुनाए पछि श्रेष्ठले आमाको हत्या गरेको बताएको छ ।

हत्याको आरोपमा प्रहरीले कमललाई पक्राउ गरी जिल्ला अदालत मोरङ बाट १० दिनको म्याद थपगरी अनुसन्धान गरिरहेको जनाएको छ ।