उर्लाबारी । मोरङको उर्लाबारीमा ब्यवस्थित घाट निर्माणका लागि पहल थालिएको छ । सोमबार उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको अग्रसरतामा जग्गाधनीहरुसँग पहिलो चरणको छलफल भएको हो । 

जग्गाधनीहरुसँगको छलफल सकारात्मक भएको र चाँडै घाट निर्माणको प्रक्रिया अघि बढाइने मेयर फागोको भनाई छ । 

जग्गाधनी लोकबहादुर कटुवालले उर्लाबारीमा घाट निर्माण गर्न अतिआवश्यक रहेकाले जग्गा दिन तयार भएको बताए ।

भेलामा सहभागी अधिकांशले घाट निर्माणका लागि जग्गा दिन तयार भएको भएपनि नगरपालिकाबाट ठोस कुरा ल्याउनु पर्नेमा जोड दिएका छन् ।

स्थानीय गोपाल कटुवालले पनि बक्राहा घाट निर्माणका लागि सबै जना जुट्न आवश्यक रहेको बताए ।

मृत्युपछि अन्तिम सस्कार गरिने घाट अब्यवस्थित हुँदा समस्या उत्पन्न भइरहेको उल्लेख गर्दै तत्काल घाट निर्माणका लागि प्रक्रिया अघि बढाउनु पर्नेमा जोड दिए । मेयर फागोले गुरुयोजना बनाएर ब्यवस्थित घाट निर्माण गर्ने योजना रहेको भेलामा सुनाए ।

मृत्युपछिको कर्ममा बसेकाहरुलाई बस्ने घरदेखि मन्दिर, पार्क, सडक कालोपत्रे, गार्डेनलगायतको योजना रहेको मेयर फागोले बताए ।

उनले बक्राहा घाट निर्माणका लागि चाँडै ठोस कदम अघि बढाउने जानकारी समेत उपस्थित भेलामा व्यक्त गरेका छन् । सबैको साथ र सहयोगमा ब्यवस्थित बक्राहा घाट निर्माण गर्ने मेयर फागोको भनाई छ ।

शव जलाउदा मलामी र सवारीको चापले राजमार्गमा अवरोधः

उर्लाबारी नगरपालिकाको बक्राहा खोलाको वारि र पारी शव जलाउँदै आएको वर्षौ भएको छ । उर्लाारी नगरपालिका-४ स्थित बक्राहा घाटको दुवैतर्फ शव जलाउने गरिएको भएपनि व्यवस्थित घाट निर्माण हुन सकेको छैन । 

तसर्थ मलामीको जमघट र सावारी साधनको चापले मुख्य राजमार्गमा जाम नै हुने गरेको छ । जसका कारण मुख्य राजमार्गमा आवतजावत गर्ने हजारौ सर्वसाधरणले कष्ट खेपी रहेका छन् ।

 खोलामा दैनिक औसत २/३ वटा शव जलाउने गरिएको छ । तर, व्यवस्थित घाट नभएकोले शव जलाउन कठिन हुने गरेको स्थानीय मिलन दाहालको भनाइ छ । जथाभावी रुपमा शव जलाउने गरिएका कारण दायाँबायाँका किनारामा लास जलाउन प्रयोग गरिने दाउरा, खरानी, अँगार त्यतिकै हुने गरेको छ । 

जसले गर्दा खोलाको किनार फोहोर र प्रदूषित भई वातावरण र जनस्वास्थ्यमा असर पर्न गएको स्थानीय बासिन्दा बताउँछन् । सो स्थानमा मलामीले खाएको पानी तथा बिस्कुटलका खोलहरु जथाभावी रुपमा खोलामा फ्ँयाक्ने गरिएको छ । जसले गर्दा घाट झन् अव्यवस्थित बनिरहेको छ । अझ वर्षायाममा बक्राहामा आउने बाढीले बगरक्षेत्र पुरै जलमग्न हुने गरेका कारण शव जलाउन कठिन हुने गरेको छ ।

नगरको गौरबको योजनामा बक्राहा घाट

उर्लाबारी नगरपालिकाको नगरसभाले गौरबको योजनाको रुपमा बक्राहा घाटका लागि ७० लाख रुपैयाँ छुट्याएको छ । 

यस आर्थिक बर्षमा नगरपालिकाले सो रकम छुट्याएपनि फ्रिज हुने सम्भावना बढेपछि मेयर फागो स्वम् बक्राहा घाट निर्माणमा अग्रसर भएका हुन् । यसअघि पनि गौरबकै योजनामा नगरभासले ५० लाख छुट्याएको थियो । तर, उक्त रकमले काम हुन सकेन । जग्गाका विषयमा विवाद हुँदा उर्लाबारीमा ब्यवस्थित घाट निर्माण हुन ढिलाई भइरहेको छ । यसप्रति सबैले ध्यान दिन जरुरी छ ।