धानकै बाला झुलाउँला मायालाई बोलाउँला’ भन्ने दोहोरी घन्काउँदै इलामको एक सामुदायिक विद्यालयका प्रधानाध्यापक सोम निरौलासहितको जम्बो टोली विद्यालय बन्द गरेर शैक्षिक भ्रमणमा निस्किएको छ ।

अचम्मको कुरा त के छ भने विद्यालयको नियमन गर्ने निकायकै प्रमुख समेत सो भ्रमण टोलीको सदस्यका रुपमा सरिक छन् ।नमूना विद्यालयका रुपमा परिचित इलाम नगरपालिका ५ स्थित बरवोटेमा रहेको अमर माध्यमिक विद्यालयको शैक्षिक अवलोकन भ्रमणमा नगर शिक्षा अधिकृत राधिका घिमिरे समेत सम्मेलित भएकी छिन् ।बुटवल, पोखरा, लुम्बिनी, चितवन लगायतका क्षेत्रमा रहेका नमूना विद्यालयको अवलोकन भ्रमण गर्न जाने भन्दै बिद्यालयका प्रधानाध्यापक निरौलाले तीन दिन अघि विद्यार्थीलाई विद्यालय नआउन सूचना गरेका थिए ।

विद्यालयको सूचना बमोजिम अहिले विद्यार्थी घरमै छन् भने विद्यालयका शिक्षक श्रीमती सहित शैक्षिक भ्रमणको नाममा सरकारी सम्पत्तीको चरम दुरपयोग गर्दै रमाइरहेको भ्रमणमा निस्किएका शिक्षकहरुले सामाजिक सञ्जालमा सार्वजनिक गरेकै श्रव्यदृष्य सामग्री(भिडियो)बाट प्रष्ट हुन्छ ।

शैक्षिक भ्रमणका नाममा विद्यालय बन्द गरेर प्रधानाध्यापक निरौला सहित नगर शिक्षा अधिकृत नै हिडेपछि अहिले इलाम ५ बरबोटे सहित सदरमुकाममा यो विषयले खैलाबैला मच्चिएको छ । भ्रमण टोलीमा २५ जना सहभागी रहेको बताइन्छ ।
शैक्षिक भ्रमणमा निस्कने भन्दै दुई दिन विद्यालय बन्द रहने विद्यालयले सूचना गरेको छ । झण्डै ७ सय विद्यार्थी अध्ययनरत रहेको सो विद्यालयलाई नमूना विद्यालय घोषणा गर्दै संघीय सरकारबाट एक करोड ५० लाख रुपैयाँ वजेट प्राप्त भएको छ ।

सोही बजेटबाट अवलोकन भ्रमणका नाममा विद्यालयले भ्रमण टोलीमा विद्यार्थीलाई सहभागी नगराई शिक्षकका श्रीमती लगेपछि अभिभावक समेत असन्तुष्ट देखिएका छन् ।विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण आफैंमा शैक्षिक क्षेत्र अहिले तहस नहस भएको छ । कोभिडको त्रास कम हुँदै गएपछि बल्ल तल्ल सञ्चालनमा आएका विद्यालयले पठनपाठनलाई जोड दिनु पर्नेमा विद्यालय नै बन्द गरेर विद्यालयसंग असम्बिन्धित व्यक्तिलाई भ्रमणमा लगेर सरकारी सम्पत्ति दुरुपयोग गरेको भन्दै अभिभावकले चर्काे आवाज उठाउन शुरु गरेका छन् ।

यता विद्यालयका प्रधानाध्यापक निरौलाले निर्देशिकामा उल्लेख भए बमोजिम नै आफूहरु शैक्षिक भ्रमणमा निस्किएको बताउँदै आएका छन् । उनले आफ्नो विद्यालय नमूना विद्यालयको रुपमा छनौट भएको र राम्रा विद्यालयको अवस्था बुझ्न आफूहरु विद्यालय बन्द गर्ने व्यवस्थापन समितिको निर्णय र नगरपालिकालाई समेत जानकारी गराएर हिँडेको बताए । विद्यालय बन्द गरेर शैक्षिक अवलोकन भ्रमणमा निस्कनु भएछ नि भन्ने जिज्ञासा राख्दा प्रधानाध्यापक निरौलाले विद्यालय बन्द भएको बेला के विद्यालयको अवलोकन भ्रमण हुन्छ भन्दै उल्टै प्रति प्रश्न गरे ।


भ्रमण टोलीमा शिक्षकका श्रीमती पनि सहभागी छन् नि भन्ने प्रश्नको उत्तर दिँदै प्रधानाध्यापक निरौलाले भने – खर्चको व्यवस्थापन गर्न उहाँहरुलाई लगिएको हो । गाडी खाली पनि त लानु भएन नि भन्दै उनी सहजै पन्छिए ।तर, व्यवस्थापन समिति अध्यक्ष गोविन्द पौडेलले भने व्यवस्थापन समितिले लिखित नभई मौखिक छलफल गरेर विद्यालय बन्द गरेको स्विकेरेका छन् । तर,प्रधानाध्यपक निरौलाले भने लिखित निर्णय गर्दै आफूहरुले विद्यालय बन्द गरेको बताउँदै आएका छन् । यसबाटै प्रस्ट हुन्छ कि कानूनको ध्वज्जी उडाउँदै अमर माध्यिमिक विद्यालयबाट शैक्षिक भ्रमण निकालिएको हो ।

यता यस विषयमा इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कालीवहादुर भुजेलसंग जिज्ञासा राख्दा उनले शैक्षिक भ्रमणका नाममा विद्यालय बन्द गर्न नहुने बताए । यदि त्यस्तो पाइएमा आफूको ध्यानाकर्षण भएको र भोलि यस विषयमा विद्यालय समक्ष बुझ्ने बताएका छन् । उनले प्रधानाध्यापकको बचावट गर्दै विद्यालय बन्न नभएको तर्क राखे । यस विषयमा मैले आजै वडाध्यक्ष समक्ष बुझेको छु विद्यालय बन्द छैन प्रमुख प्रशासकीय अधिकृत भुजेलले भने –‘थप आवश्यक कुरा बुझ्नु परेको खण्डमा भोलि ११ वजे फोन गर्नु होला ।’

विद्यालयको शैक्षिक अवलोकन भ्रमणमा निस्किएको टोलीले बा ५ च ८०८८ नम्वरको सवारी प्रयोग गरेको छ । सोही सवारीमा श्रीमती सहित सवार शिक्षकहरु ‘धानकै बाला झुलाउँला मायालाई बोलाउँला’ भन्ने दोहोरी घन्काउँदै पारिवारिक भ्रमणको झल्को दिने गरी रमाई– रमाई घुमिरहेका छन् ।