इटहरी । पितृका नाममा दीप प्रज्वलन गरेर र शतबीज छरेर मनाइने बालाचर्तुदशी आज (शुक्रबार) परेको छ । काठमाडौंको पशुपति नाथ   लगायतका विभिन्न मन्दिर र शिवालयमा पितृका नाममा शतबीज छरेर धुमधामसाथ बालाचर्तुदशी मनाउने गरिन्छ । आजको दिन विभिन्न धार्मिक तीर्थस्थलहरुमा शतबीज छर्नेको भीड लाग्ने गरेको छ । 

अघिल्लो रात जाग्राम बसेर भजनकीर्तन गर्दै दीप प्रज्वलन गरेपछि भोलिपल्ट बिहान शतबीज छर्ने प्रचलन छ । हिन्दू धर्मावलम्बीहरुले आफ्ना दिवङ्गत पुर्खाहरुको मुक्तिका लागि शतबीज छर्ने गर्छन् । कुनै पनि दुर्घटना वा अकालमा मृत्यु भएकाहरुलाई स्वर्ग जान सहज होस भनेर शतबीज छर्ने गरिन्छ । 

मंसिर कृष्ण त्रयोदशीका दिन जाग्राम बसेर मृतात्माको नाममा दीप प्रज्वलन गर्नाले पितृदोषबाट मुक्ति मिल्ने जनविश्वास छ । शतबीजमा सातवटा अन्नको प्रयोग गरिन्छ । 

धान, गहुँ, मास, मुङ्गी, कागुन, सामा, कागती, निबुवा, सुन्तला, स्याउ, उखु, अम्बा, केरासहित तील, चना, मकैलाई समेत शतबीजमा प्रयोग गरिन्छ । मंसिर कृष्ण त्रयोदशीको दिन पितृहरुको सम्झनामा दीप प्रज्वलन गरेर रातभर जागा बस्ने र बिहान शतबीज छर्ने प्रचलन छ । 

भक्तजनहरु बिहान स्नान गरेर चोखो र श्रद्धापूर्वक मनले शतबीज छर्नका लागि नजिकका शिवालय पुग्ने गर्छन् । काठमाडौंको पशुपतिनाथ, किँरातेश्वर महादेव, गौरीघाट, गुहेश्वरी, आर्यघाट, श्लेषमान्तक वन, चतरा, बराहक्षेत्र, सेतीवेणी धाम, देवघाटलगायतका स्थानहरुमा शतबीज छर्ने दर्शनार्थीहरु भेला हुन्छन् ।