इटहरी । आन्तरिक राजश्व कार्यालय इटहरीले कर सप्ताह अन्तरगत  सुनसरीका कर सहयोगीहरु संग अन्तरकृया गरेको छ ।

गत मंसिर १ गते इटहरीमा सचेतनामुलक र्यालीसहित उद्योग वाणिज्य संघ इटहरीमा एक कार्यक्रम गरि कर सप्ताह सुरु गरिएकोमा कार्यालयले हरेक दिन विभिन्न कार्यक्रम गदै आएको छ । जसअन्तरगत आज सुनसरीमा कार्यरत कर सहयोगीहरु संघ अन्तरकृया गरिएको हो ।

सुनसरीको इटहरी, धरान, दुहवी, इनरुवा लगायत ठाउँमा कार्यरत कर सहयोगीहरुसँग कार्यालयले पछिल्लो पटक संशोधन भएका कर सम्बन्धि विषयमा छलफल गरेको हो । कार्यक्रममा सहजिकरण गर्दै कार्यालयका प्रमुख शान्तिराम निरौलाले व्यवसायीहरुलाई पछिल्लो पटक व्यवस्था गरिएका नियमहरु बारे जानकारी गराउने भरपर्दो माध्यम कर सहयोगीहरु भएकाले यस विषयमा महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे ।

उनले यसपटक धेरै शिर्षकमा कर छुटको व्यवस्था रहेकाले सो सम्बन्धि विषयमा व्यवसायीहरुलाई जानकारी गराउन समेत आग्रह गरे । कर सप्ताह अन्तरगत कर्मचारीहरुबीच व्याडमिन्टन प्रतियोगिता, प्रभातफेरी, रक्तदान, वृद्धाश्रममा खाद्यान्न वितरण गर्नुका साथै समापनका दिन करदाताहरुलाई सम्ममान गर्ने कार्यक्रम रहेको कार्यालय प्रमुख निरौलाले जानकारी दिए ।