इटहरी । २०७८ सालको बडादसैँ सुरु भएको आज (शनिबार) तेस्रो दिन हो । आश्विन शुक्ल तृतीया अर्थात नवरात्रको तेस्रो दिन माता चन्द्रघण्टाको पूजाआराधना गरेर मनाइन्छ । 

घर, मन्दिर, विभिन्न शक्तिपीठ तथा धार्मिक तीर्थस्थलहरुमा माता दुर्गा भगवतीको उपासना गरेर दसैँ हर्षोल्लाससाथ मनाइँदै छ । दुर्गा माता आफ्नो तेस्रो स्वरूपमा चन्द्रघण्टाको नामले चर्चित छिन् । चन्द्रघण्टालाई शान्ति र शक्तिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा छ । 

दश बाहुले युक्त देवी चन्द्रघण्टा त्रिशूल, गदा, तरबार, कमण्डलु, धनुष, वाण, कमल पुष्प, अक्षर माला धारण गरेकी छन् । उनको वाहन बाघ हो । देवी चन्द्रघण्टाको घण्ट ध्वनिबाट भूत–प्रेत र बाधा भागेर जानेछन्  भन्ने जनविश्वास छ । 

माता चन्द्रघण्टाले अत्याचारी दानव तथा दैत्यलाई नास गरेको शास्त्रमा वर्णन गरिएको छ । चन्द्रघण्टा शत्रु तथा दुष्टलाई नास गर्न सँधै तत्पर रहन्छिन् भन्ने बुझाइ छ । सौम्य स्वभावका साथै वीरता, निर्भीकता तथा युद्ध कौशलको लागि उनी प्रशिद्ध छिन् । 

चन्द्रघण्टा देवीका उपासक सिंह अर्थात बाघजस्तै पराक्रमी तथा निर्भीक हुन्छन् भन्ने विश्वास गरिन्छ । उनको पूजाआजा गर्दा सद्गुण, पराक्रण तथा विनम्रताको विकास हुने र शरीरमा कान्ति  एवम् गुणको वृद्धि भएर दुःख र कष्ट निवारण हुने जनविश्वाससमेत छ । 

देवीका भक्त जहाँ जहाँ पुग्छन् त्यहाँ आफ्नो दिव्य र अलौकिक व्यवहारकै कारण सबैले सुख तथा शान्तिको अनुभूति गर्न पाइने  मान्यता स्थापित भएकाले चन्द्रघण्टाको आराधनालाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । त्यही भएकाले नवरात्रको तेस्रो दिन अर्थात् आश्विन शुल्क तृतीयामा चन्द्रघण्टाको ध्यान, उपासना, पाठ एवम् आराधना गरिन्छ । चन्द्रघण्टा देवीको आराधना गर्नाले सबै प्रकारको दुःख, कष्ट नास हुने र सबै प्रकारको बाधा हट्ने जनविश्वास छ ।