नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा हालै आफ्नी प्रेमिकाको अर्कै केटासँग बिहे हुन थालेपछि रन्थनिएका एक युवक बेहुली बनेकी प्रेमिकालाई भेट्नका लागि केटीको भेष गरेर बिहेस्थलमा छिरेका छन् ।

केटीको भेषमा विवाहस्थलमा प्रवेश गरेका उनलाई पक्राउ परिएको छ । उत्तर प्रदेशको भादोही जिल्लास्थित एक गाउँमा भएको यो घटनाले समाचारमा स्थान पाएको छ ।बेहुली पहिरन लगाएका ती युवकले नक्कली कपाल, सिँगारपटार गरेका थिए । काँधमा लेडिज ब्याग भिरेका थिए । उनले महिलाले लगाउने स्याण्डिल लगाएका थिए ।

उनी गर्लफ्रेण्डको घरभित्र लुसुक्क छिरे र बेहुलीसँग भेटाइदिन अनुरोध गरे । उनको जीउडाल तथा हाउभाउ देख्दा बेहुलीका घरका मान्छे सशंकित भए ।

बेहुलीका घरका मानिसले आशंका गरेपछि ती युवकले लामो समयसम्म केटी भएको बहाना गरिरहन सकेनन् । उनको पोल खुल्यो र त्यहाँ उपस्थित मानिसहरूले उनलाई समातिहाले । जब उनलाई समातेर उनको घुम्टो तथा नक्कली कपालसमेत हटाइयो तब सबैजना तीनछक परे ।

उनलाई प्रहरीमा बुझाउनका लागि पुलिसलाई फोन गर्ने तयारी भैरहेको थियो । अकस्मात ती युवक त्यहाँबाट भाग्न सफल भए । उनलाई घर बाहिर उनका दुईजना साथीहरूले कुरिहेका रहेछन् । उनै साथीहरूसँग उनी त्यहाँबाट बाइकमा सुइँकुच्चा ठोके ।