इटहरी/ विगतका  वर्षहरूमा धूमधामसँग मनाइने ‘श्रीकृष्ण जन्माष्टमीलाई यो वर्ष भने कोरोनाले रोकेको छ । अघिल्ला वर्षमा ‘श्रीकृष्ण जन्माष्टमीको तयारी निकै अघिबाट सुरु भएर भोलि रथयात्रा तानेर समापन गर्ने प्रचलन रहेको थियो । तर कोरोनाको विश्वव्यापी प्रभावले देशका विभिन्न मन्दिरहरूमा भक्तजनको आवत जावत कम भएको छ । सनसरीका राधाकृष्ण मन्दिर, श्री कृष्ण प्रणामी मन्दिर धरानका विभिन्न मन्दिरहरूमा हजारौँको सङ्ख्यामा देखिने भक्तजन यो वर्ष भने आआफ्नै घरमा मनाउने गरेको पाइएको छ । यस वर्ष सधैँ जस्तो निकालिने झाँकीसहित शोभा यात्रा समेत ननिकाल्ने पण्डितहरूको भनाई रहेको छ । रथयात्राका लागी मानिसको भिड अत्यधिक हुने र कोरोना सङ्क्रमण फैलने भन्दै यात्रा ननिकाल्ने भएको हो । ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ का रूपमा भनिन्छ । यस दिन विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक सङ्घसंस्थाले झाँकीसहित शोभा यात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रूप दर्साएको सचित्र झुला झुलाउने चलन छ । 

विगतका वर्षमा रातभर कृष्णको जन्म हुने भएकाले मठ मन्दिरमा बसेर पूजा आराधना गर्ने चलन रहेकोमा यो वर्ष भने बाध्य भएर मर्यादित एवम् स्वास्थ्य मापदण्ड पालना गर्दै होसियारका साथ यो पर्व मनाएको भक्तजनहरूको बनाई रहेको छ । 

विगतका वर्षहरूमा मुलुकभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजन कीर्तन गर्ने र मेला लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण कृष्ण मन्दिरमा खासै चहल पहल छैन । पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ ।