काठमाण्डौ । कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (सीएसआईटी) एशोसिएसन अफ नेपालले अनलाइनबाट परीक्षा सञ्चालनको माग गर्दै विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीन कार्यालयमा ताला लगाएको छ । 

वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्नुपर्ने माग राख्दै बुधबार सीएसआईटी एशोसिएसन अफ नेपालले त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीनको कार्यकक्षमा ताला लगाएको हो ।

अनलाइन परीक्षाको माग गर्दै डीनको कार्यकक्षमा तालाबन्दी गरेको सीएसआईटीका महासचिव आशिष गिरीले बताए । यो एउटा सांकेतिक विरोध भएको उनले बताए । 

केही दिन अगाडि संस्थानले अनलाइनबाट परीक्षा गराउन तयार रहेको बताएको थियो । तर अनलाइनबाट परीक्षा गराउन संस्थान तत्काल तयार नभएपछि डीन कार्यालयमा ताला लगाएको गिरीले जानकारी दिए । 

गिरीका अनुसार विद्यार्थीहरु पनि अनलाइनबाट परीक्षा दिन तयार थिए । माग सम्बोधन नभए आफुहरूले थप रचानात्मक आन्दोलन गर्ने उनले बताए । 

सीएआईटी एशोसिएसन नेपालले यसअघि त्रिभुवन विश्वविद्यालयका रेक्टर, रजिष्टार र उपकुलपति कार्यालयमा वैकल्पिक विधिबाट परीक्षा सञ्चालनको माग राखेको थियो भने प्रधानमन्त्री शेर बहादुर देउवालाई पनि वैकल्पिक विधिबाट परीक्षा सञ्चालनका लागि तत्काल कदम चाल्न ध्यानाकर्षण गराएको थियो ।