मोरङ । नेपाल पत्रकार महासंघको मोरङले पूर्बीउत्तर मोरङको पाँच वटा शैक्षिक संस्थाहरुमा आम सञ्चार र पत्रकारिता बिषयमा पठनपाठन सुरु गर्न माग गरेका छन् । 

बिहिबार नेपाल पत्रकार महासंघ मोरङको टोलीले उर्लाबारी नगरको उर्लाबारी बहुमुखी क्याम्पस, पथरीशनिश्चरे नगरको पञ्चायत मावि, लेटाङको शान्ति भगवति मावि, शुन्दरहरैचाको सुकुना र बेलबारी गनरका रहेको भगवति माविको ११ र १२ कक्षामा आम सञ्चार (पत्रकारिता) बिषयमा पठनपाठन सुरु गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन । 

ज्ञापन पत्र बुझाउन नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराई, सहसचिव प्रशान्त निरौला, सदस्यहरु तेजन खड्का, शुरेस अधिकारी, नवराज भट्टराई, बबिता राई, दिपा धिमाल, प्रदेश पार्सद ज्याति चौहान, निवर्तमान जिल्ला सदस्य सुमन घिमिरे, अग्रज पत्रकार दुर्गाप्रसाद भट्टराई, पत्रकार केशव निरौला, भूमिप्रसाद पाठक, अनु निरौला लगायतको टोली ज्ञापन पत्र बुझाउन क्याम्पस र विद्यालयहरु पुगेका थिए । 

टोलीमा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ १ नम्बर प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राई, राष्ट्रिय समाचार पत्र दैनिकका प्रकाशक/सम्पादक केदार चौहान लगायतका उपस्थिति रहेका थिए । 

विश्व जगतमा एकपछि अर्को गर्दै सूचना तथा आम सञ्चारको महत्व बढ्दै गएकोले यी शैक्षिक संस्थाहरुमा पठनपाठन सुरु गर्न सान्दर्भीक हुने महासंघले उल्लेख गरेको छ । 

पूर्बी मोरङका कुनै पनि शैक्षिक संस्थाहरुमा पत्रकारिता बिषय पठाइ नभएको कारण जिल्लामा कार्यरत पत्रकारहरु अधिकांश तालिम र अभ्यासको भारमा पत्रकारिता गर्दै आएका छन् । तल्लो तहमा पत्रकारिता पढ्न नपाएको कारण अन्य बिषयमा नै स्नातक, स्नाकोत्तर गरेर बिभिन्न मिडियाहरुमा काम गर्दै आएका छन् । 

ज्ञापनपत्र बुझ्ने क्रममा उर्लाबारी बहुमुखी क्याम्पसका प्रमुख मेघनाथ भट्टराईले बिषय थप गरेर पत्रकारिता राख्ने प्रयास गर्ने बताए । 

पथरीशनिश्चरे नगरको पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले पत्रकारिता बिषय थप्न समस्या नहुने बताए । एउटा बिषय मात्र थप्दा विद्यालयलाई ठूलो ब्यय भार पनि नपर्ने भएकोले सल्लाह गरेर बिषय थप्न सकिने बताए । माविका बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष आइकुमारी तुम्बापोको पनि उपस्थिति रहेको थियो । 

लेटाङ नगरपालिकामा रहेको शान्ति भगवति माविका प्रधानाध्यापक श्रीप्रसाद ढकालले विद्यालयमा बिषयहरु थाप्ने कुरा भइरहेकाले पत्रकारिता थप्न सकिने बताए । त्यसैगरी सुन्दरहरैचा नगरमा रहेको सुकुना माविका प्रधानाध्यापक लक्ष्मीकुमार श्रेष्ठले नागरिकको चेतना वृद्धि र विक्रिती बिसंगतिको नियन्त्रणको लागि पत्रकारिता बिषय आवश्यक रहेको बताए । श्रेष्ठले पत्रकारिता बिषय थप गर्ने बिषयमा विद्यालयको ध्यान केन्द्रित भएको प्रतिकृया दिएका थिए । त्यसैगरी बेलबारी नगरपालिकाको भगवति माविमा समेत ज्ञापन पत्र बुझाइएको छ । 

अधिकांश शैक्षिक संस्थाका सञ्चालक तथा प्रशासन प्रमुख (प्रधानाध्यापक)हरुले पत्रकारिता बिषय थप गर्ने बिषयमा सकारात्मक प्रतिकृया प्राप्त भएको नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराईले बताए । 

संघीय गणतन्त्र स्थापनापछि गठन भएको स्थानीय तह (पालिका) सरकारलाई पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक प्रकाशनको साथै बिषय थप्ने, घटाउने अधिकार भएकोले शैक्षिक संस्था र सम्बन्धित स्थानीय तहले चाहेमा पत्रकारिता बिषय थप्न समस्या नहुने टोलीमा संलग्न नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राईको भनाइ छ ।