मोरङ । मोरङको उर्लाबारी नगरपालिकाले कोभिड-१९ विरामीहरुको उपचार्थ संचालन गरेको आइसोलेसन सेनटरलाई एनआरएन हङकङले सहयोग गरेको छ ।

गैरआवासीय संघ (एनआरएन) हङकङ परिवारले नगरपालिका द्वारा उर्लाबारी-८ स्थित राजघाट स्वास्थ्य चौकीमा संचालित  कोभिड अस्पतालका लागि दुई थान अक्सिजन कन्सल्ट्रेटर प्रदान गरेको हो । 

कोरोना संक्रमित भई अक्सिजनको आवश्यता परेका विरामीहरुको उपचारमा सहजताका ल्याउनका लागि हङकङमा रहेकी उर्लाबारी-६ की अनु राईको विशेष पहलमा दुई लाख बढी मूल्य पर्ने उक्त सामग्री प्रदान गरिएको हो ।

कोरोना विरामीका लागि अक्सिजन उत्पादन गर्ने उक्त सामग्री प्राप्त भएपछि संक्रमिको उपचारमा थप सहजता हुने भन्दै सहयोगी दाताहरुलाई उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले धन्यवाद ज्ञापन गरेका छन् ।  

हस्तान्तरण कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, पूर्व बरिष्ठ उपाध्यक्ष तारमान सेरेङ लिम्बू, रेडक्रस उर्लाबारीका अध्यक्ष मदनबाबु प्रसाई, सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेतलगायतको उपस्थिति रहेको थियो । 

राजघाट स्वास्थ्य चौकीमा रहेको कोभिड उपचार केन्द्रमा हालसम्म ६५ जनाले उपचार पश्चात निको भई घर फर्किसकेका चौकीका इञ्चार्ज सन्दिप नेयोङले बताए । 

यसैबीच, राजघाट स्वास्थ्य चौकीमा शुक्रबार १२ जनाको एन्टिजेन परीक्षणमा १२ जनाकै रिपोर्ट पोजेटिभ आएको छ । नगर प्रमुख फागोले संक्रमण बढ्दै गएकोले सतर्कता अपनाउन नगरवासीलाई आग्रह गरेका छन् ।