नेपालले चीनसँग खरिद गरेको कोरोना भाइरस विरुद्धको ८ लाख मात्रा खोप नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले आज बिहान भेरोसेल खोप ल्याएको हो ।

आजदेखि साउन ८ गतेसम्म तीन वटा उडानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले चीनको सिनोफार्म कम्पनीबाट भेरोसेल खोप खरिद गरेको हो । खोप ६० वर्षमुनि उमेर समूहका व्यक्तिलाई प्राथमिकताका आधारमा लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ ।

यस्तै कोभ्याक्स सुविधामार्फत आउने खोप पनि छिट्टै ल्याउने मन्त्रालयले जनाएको छ । यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्रा खोप आएको थियो । नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप भित्रिएको छ । नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसंख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ । अहिलेसम्म आठ लाख ५१ हजार ३ सय जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८ सय ७ जनालाई पहिलो मात्राको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।