पथरी ।

इलाका प्रहरी कार्यालय पथरीले लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनिहरुलाई गत जेठ ३ र ४ गते पथरी र कानेपोखरी बाट प्रक्राउ गरेको हो । प्रहरीले उनिहरुलाई विषेश सुराकीका आधारमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पथरी शनिश्चरे वडा नम्वर १ ठेगाना भएका वर्ष ३५ का नाराएण परियार र वर्ष ३२ का कृष्ण दर्नाल रहेका छन् भने कानेपोखरी २ ठेगाना भएका वर्ष ३१ का हर्कबहादुर विष्ट र वर्ष २७ का योगेन्द्र निरौला रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी उपरिक्षक कृष्ण खड्काले बताए ।

पथरी शनिश्चरे १ स्थित फिल्महल लाईनमा रहेको नाराएण परियारको घरबाट प्रहरीले १३ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर एक थान डिजीटल तराजु सहित परियार र दर्नाललाई जेठ ३ गते विहान ६ वजे तिर घर बाटै नियन्त्रणमा लिएको जनाएको छ ।

यस्तै जेठ ४ गते कानेपोखरी गाउपालिका वडा नम्वर २ स्थित कालिकास्थानमा रहेको हर्क बहादुर विष्टको घरमा छापामारी प्रहरीले २ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित विष्ट र निरौलालाई प्रक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेकाहरुले लामो समय देखी पथरी र कानेपोखरीलाई केन्द्र बनाई लागुऔषध ब्राउन सुगरको अवैध ओसारपसार, विक्रि वितरण, संचय तथा सेवनको कार्यमा सम्लग्न हुदै आएको जनाएको छ ।

पक्राउ परेकाहरुलाई लागुऔषध कसुरमा जिल्ला अदालत मोरङ बाट म्याद थप गरी आवश्यक कानुनी कार्वाहीका प्रक्रिया अगाडी बढाएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।