इटहरी । नेपाल प्रेस युनियन सुनसरीले जिल्लामा रहेका कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई घर घरमै गएर परामर्श दिने भएको छ ।

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार जिल्लाका कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर डाक्टर, नर्ससहितको निःशुल्क परामर्श दिने भएको हो ।


दोस्रो चरणको भेरियन्ट आइकन जिल्लामा झण्डै एक दर्जन सञ्चारकर्मी कोरोना संक्रमित भएका छन् । 

केही संक्रमितहरु अस्पतालमा उपचाररत छन् भने केही संक्रमितहरु घरमै आइसोलेट भएर बसेका छन्,। 

परामर्श तथा उपचारमा कोही बन्चित नहरन भनेर हामीले घरमै आइसोलेट भएर बसेका संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर डाक्टरद्धारा सेवा प्रवाह गर्न लागेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

डा. अमितकुमार खतिवडा ( मेडिकल  अधिकृत )  र स्टाफ नर्स किरण चौधरीले संक्रमित सञ्चारकर्मीलाई घरमै गएर निःशुल्क परामर्श गर्ने र आवश्यक औषधी उपचार गर्ने गरी युनियनले तयारी अघि बढाइएको छ ।

घरमै गएर मोबाइल डाक्टरू सेवा प्रवाह गर्दा संक्रमित सञ्चारकर्मीलाई हौसला प्रदान हुने भएकाले कोरोनामुक्त हुन सहज हुने अधिकारीको भनाइ छ।

 यसैबीच डा। खतिवडासँग युनियनले आइतबार सम्झौता समेत गरेको छ ।

युनियनले गत वर्ष सुनसरीका २६० जना सञ्चारकर्मीहरुको निःशुल्क कोरोना बीमा गरेको थियो । 

ती मध्ये ३० जनालाई जनही एकलाखका दरले रकम समेत हस्तान्तरण गरिसकिएको अधिकारीले बताए ।

यस्तै, इटहरी १० मा उद्योग बाणिज्य संघ इटहरीले नेतृत्व गरेर निर्माण गरेको आइसोलेसनमा प्रेस युनियनसहित अन्य विभिन्न संस्थाको समन्वयमा जिल्लाका सञ्चारकर्मीहरुलाई अक्सिजनसहितको निःशुल्क सेवा दिने तयारी गरिएको छ ।