कोकिला भण्डारी
धनकुटा । अर्गानिक तरकारी उत्पादनको पकेट क्षेत्रका रुपमा रहेको छथरजोरपाटी गाउँपालिमा परेको असिना पानीले कृषि क्षेत्रमा करोडौं मुल्य बराबरको क्षति भएको छ ।
असिना पानीले काउली, बन्दा, आलु, रायो, मटरकोसा, खुर्सानी, मकै, गोलभेडा, काँक्रो, अलैची, अम्रिसो, घाँस तथा फलफुल र केहि चौपायाँ समेतमा क्षति पुर्याएको प्रतिवेदनमा उल्लेख छ ।
असिनाले पुर्याएको क्षति यकिन गर्न छथरजोरपाटी गाउँपालिका कृषि शाखाले क्षति भएका वडा नम्वर २, ५ र ६ मा अनुगमन टोली सहित अनुगमन गरि प्रतिवेदन तयार पारेको छ ।
सार्वजनिक सूचना जारी गरी संकलन गरेको बिवरण अनुसार पालिकामा क्षति भएका वडाहरुमा लगाईएको सबै बालीहरु र अन्य ३ वडामा आंशिक क्षति भएको पाईएको छ । 
उक्त क्षतिको मुल्यांकन गर्दा करिब ४८ करोड बराबरको तरकारी, फलफुल तथा नगदेबालीमा क्षति पुर्याएको छ
क्षति यकिन पश्चात पालिकाले प्रतिवेदन तयार गरेको छ उक्त प्रतिवेदनमा सबैभन्दा बढी वडा नं.६ मा २० करोड भन्दा बढीको सब्जी तथा अन्य बालीहरुको क्षती भएको छ ।
यसैगरि वडा नं. ५ मा १३ करोड र वडा नं. २ मा ११ करोड बरावरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।
पालिकाको कृषि तथा पशु शाखाले पालिकाका ६ वटै वडाको क्षति बिवरण संकलन गरेर निर्णयका लागि पालिका बैठकमा पेश गरेको छ ।
बैशाख २ गते परेको असिना पानीले भएको उक्त क्षतिलाई मध्यनजर गर्दै ७ गते मंगलबार बसेको पालिकाको बैठकले क्षतिपूर्ति तथा राहतका लागि संघ, प्रदेश र सम्बिन्धित निकायहरुमा पहल गर्ने निर्णय गरेको छथरजोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिनुभयो ।




















