संखुवासभा । जिल्ला अस्पताल संखुवासभा प्रदेश १ मा पहिलो बनेको छ । प्रदेशका १४ वटा अस्पताललाई पछि पार्दै जिल्ला अस्पताल पहिलो भएको हो । न्यूनतम सेवा मापडण्ड मापनमा जिल्ला अस्पताल संखुवासभाले ७१ प्रतिशत अंक ल्याएर प्रथम भएको अस्पतालका प्रशासन प्रमुख दीपेश श्रेष्ठले बताए । यस अघि यो अस्पताल प्रदेश १ मा १२ औ स्थानमा थियो । 

५० बेडको दितिय स्तरको प्रादेशीक अस्पताल १ नम्बर प्रदेशमा १४ वटा रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले बताए । जनशक्तिको व्यवस्थापन, आर्थिक व्यवस्थापन, औजार उपकरणको उपलव्धता र प्रयोग, मानव संसाधन व्यवस्थापन, बिरामीको सेवा सुबिधा, फोहरमैला र विपत व्यवस्थापनमा भएका ९ सय ३९ अंकमा ७१ प्रतिशत ल्याएको अध्यक्ष शाक्यले बताए । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की समेतको विज्ञ टोलीले अनुगमन गरेका थिए । 

आगामी बर्षमा थप नयाँ सुबिधा अस्पतालमा थप्ने पनि उनले बताए । यसै आर्थिक बर्षमा व्लड कल्चर सेवा र हार्डजोर्नी विशेषज्ञ सेवा सञ्चालन गर्ने तयारीमा रहेको अस्पतालका प्रशासन प्रमुख दीपेश श्रेष्ठले बताए । उनका अनुसार आगामी आर्थिक बर्षमा सिटि स्क्यान र आईसियु सञ्चालन गर्ने लक्ष राखेको छ । उनले जिल्ला अस्पताल संखुवासभालाई प्रदेशमै नमूना बनाईने पनि बताए ।