वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका १५ जना श्रमिकको शव स्वदेश ल्याइएको छ । आइतवार मात्रै नेपाल एयरलाइन्समार्फत मलेसिया, साउदी अरब र कतारबाट १५ जनाको शव नेपाल ल्याएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

बोर्डका अनुसार आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका १५ वटा शवमध्ये मलेसियाबाट १२ वटा, साउदी अरबबाट दुईवटा र कतारबाट एकवटा शव एकैपटक ल्याइएको हो ।

यसअघि गत माघमा मलेसियाबाट १८ वटा शव नेपाल एयरलाइन्सबाट ल्याइएको थियो । त्यसो त चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो नौ महिनामा मलेसियाबाट मात्रै २ सय १९ वटा शव आएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार चालू आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १६ महिलासहित ६ सय १५ जनाको शव स्वदेश ल्याइपुगेको छ ।

गएको साउनदेखि चैत २२ गतेसम्म वैदेशिक रोजगारीमा गएकामध्ये त्यो सङ्ख्याले रोजगारीकै सिलसिलामा ज्यान गुमाएकाको शव स्वदेश ल्याइएको बोर्डका निर्देशक दीनबन्धु सुवेदीले जानकारी दिए । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।