सर्पदंशका विरामीलाई सर्पदंशको उपचार हुने स्वास्थ्य केन्द्रमा समयमै लैजानु पर्ने विषय केन्द्रित सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीले मोरगंको नयाँ वृन्दाबन गौशालामा जनचेतना कार्यक्रम गरेको छ ।

 विषालु सर्पले टोकेका विरामीको समयमै उपचार नभए मृत्यु समेत हुने तर्फ मध्यनजर गर्दै उपचारका लागि स्वास्थ्य संस्थामा लैजानु पर्नेमा जोड दिदै सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीले मोरगंको सुन्दरहरैचा वडा नम्बर ५ राधेश्याम सेवा ट्रष्टमा सचेतना कार्यक्रम आयोजना गरेको हो । गर्मीयाममा सर्प प्रभावित मानिसहरुको संख्या बढी हुने गरेको तर्फ मध्यनजर गर्दै  सर्पदंशबाट बच्ने , सर्पले टोके प्राथमिक उपचार गर्ने , साथै सर्पदंश उपचार केन्द्रहरुलाई लैजाने लगायतका विषयमा पूर्वाञ्चल विश्वविद्यालयका उपप्राध्यापकद्धय सरिता खतिवडा र दिक्षा पौडेलले सचेतना मुलक  सहजिकरण गरेका थिए । सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीका अध्यक्ष दिवस पोखरेलको अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५का वडाध्यक्ष गणेश चौधरीको प्रमुख आतिथ्यमा सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो । नारी सृजना कुञ्ज नेपाल र राधेश्याम सेवा ट्रष्टको सहकार्य  रहेको  सचेतना कार्यक्रमको संयोजकत्व राधेश्याम सेवा ट्रष्टका संरक्षक पंडित दिनवन्धु शास्त्रीको रहेको थियो । सो कार्यक्रममा सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीका उपाध्यक्ष राजु थापा , सचिव सचिन पोखरेल , कोषाध्यक्ष उदय सुब्बा नारी सृजना कुञ्ज नेपालकी अध्यक्ष प्रतिक्षा अधिकारी र सचिव सृजना अधिकारी लगायतका अतिथीहरुको उपस्थित  रहेको थियो । 

त्यसै गरी सचेतना कार्यक्रममा स्वमसेवीका , स्थानीय समाजसेवी , साजिलाल माध्यमिक विद्यालयका स्काउट सर्कलमा आवद्ध विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।