कोकिला भण्डारी

धनकुटा । सातवटै प्रदेशका प्रादेशिक प्रशारण केन्द्र मध्येको उत्कृष्ट प्रशारण गरेकोले प्रादेशिक प्रशारण केन्द्र धनकुटा उत्कृष्ट प्रशारण केन्द्रका रुपमा पुरस्कृत भएको छ । 

रेडियो नेपालको धनकुटाबाट प्रशारण गरिरहेको प्रादेशिक प्रशारण केन्द्र धनकुटा ‘वेष्ट स्टेशन अफ द इयर’ भई पुरस्कृत भएको हो ।

रेडियो नेपालको ७१ औं बार्षिक उत्सवको अवसर पारेर रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा पुरस्कृत गरिएको रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र धनकुटाका कार्यालय प्रमुख तिलकराम चौधरीले जानकारी दिनुभयो । 

सोहि अवसर पारेर प्रादेशिक प्रशारण केन्द्र धनकुटाका कार्यालय प्रमुख चौधरी र रेडियो नेपालमा २५ बर्ष स्थायी सेवामा कार्यरत बर्ष ७७ को उत्कृष्ट कर्मचारी कार्यक्रम अधिकृत नयराज नेपाललाई स्वर्ण पदक, नगद २५ हजार, प्रशंसा पत्रले सम्मान सहित पुरस्कृत गरिएको हो । 

सञ्चार तथा कार्यक्रम सेवामा रहेर महत्वपुर्ण योगदान पुर्याएको भन्दै कार्यक्रम अधिकृत नेपाललाई सम्मान सहित पुरस्कृत गरिएको हो ।

उक्त कार्यक्रममा सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङ्ग, रेडियो प्रशारण सेवा विकास समितिका अध्यक्ष तथा सुचना प्रविधि मन्त्रालयका सचिव हरि वस्याल, रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीलगायतले सम्मान गर्नुभएको थियो ।