पथरी,

मोरङको पथरीशनिश्चरे-८ गुरास चौकका एक व्याक्तिको मापसे सेवन गरेका एक दर्जन व्यक्तिहरुले आक्रमण गर्दा मृत्यु भएको छ ।

आक्रमणबाट गम्भीर घाइते पथरी शनिश्चरे-८ का ४९ वर्षीय खड्गबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मादक पदार्थ सेवन (मापसे) गरेका १२ जना युवाहरुको समूहले गत चैत ८ गते विहानको राति १ बजेतिर तामाङमाथी अन्धाधुन्ध आक्रमण गर्दा तामाङको टाउकोमा गम्भिर चोट लागेको र उनको उपचारका क्रममा मंगलबार मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राइले बताए ।

सामूहिक आक्रमणको घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल विराटनगरस्थित नोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो । उपचार ठीक भएको भन्दै अस्पतालले आइतबार उनलाई डिस्चार्ज दिएर घर पठाएको थियो । 

घरमा स्वास्थ्य अवस्था थप बिग्रिएर गए पनि थप उपचारका लागि लैजान नपाउँदै तामाङको आफ्नै घरमा मंगलबार दिउँसो ज्यान गएको डीएसपी राईले बताए ।

घटनामा संलग्न ६ जनालाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरिसकेको छ । फरार रहेका अन्य ६ जनाको खोजी भइरहेको पथरीका डिएस्पी कृष्ण खड्काले बताए ।

पक्राउ पर्नेमा सन्दीप शेर्मा, रोमन मगर, सीमर लिम्बू, विशाल तामाङ, सचिन शेर्मा र सुगम लावती रहेका छन् । फरार हुनेमा सुशील राई, विवेक अधिकारी, पारस बुढाथोकी, सञ्जीव तामाङ, डिगबहादुर खड्का र शुक्रराज लिम्बू रहेको प्रहरीले जनाएको छ ।

तामाङमाथि के कारण आक्रमण भएको हो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । आक्रमणमा संलग्नविरुद्ध प्रहरीले यसअघि ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको थियो । 

तर अहिले कुटपिट गरिएका व्यक्तिको मृत्यु नै भइसकेका कारण घटनामा संलग्नविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाउन आवश्यक प्रक्रिया थालिसकेको प्रहरी स्रोतले जानकारी दिएको छ ।