नेपालका पहाडी क्षेत्रमा हाेली पर्व मनाइँदै छ। वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल पूर्णिमाका अवसरमा आज आइतबार हाेली पर्व हिमाली एवं पहाडी जिल्लामा मनाइँदैछ।

किंवदन्ती अनुसार त्रेता युगमा हिरण्यकश्यपुले विष्णुका ठूला भक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्य गरेका थिए। साेही कारण उनले आगाेले केही गर्न नसक्ने आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर प्रह्लादलाई केही नभएका कारण कारण होलिका मारिएको दिन होली खेल्ने परम्परा रहेकाे विश्वास गरिन्छ।

नेपालकाे तराई क्षेत्रमा भने भाेली साेमबार हाेली पर्व मनाइने छ। पहाडमा मनाएकाे भाेलीपल्ट तराईमा हाेली मनाउने परम्परा रहेकाे छ। 

नेपालमा काेराेना संक्रमण बढ्न सक्ने स्थितीका कारण प्रशासनले यस वर्ष हाेली पर्वलाई घरमै सीमित गर्न आग्रह गरेकाे छ। ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले यसअघि नै सावधानी अपनाउन पत्राचार गरिसकेकाे छ।  

अघिल्लाे वर्ष हाेली पर्व निकै सावधानीपूर्वक मनाइँदा व्यवसायीलाई मार परेकाे थियाे। यस वर्ष पनि रंग, पिच्कारीलगायतका सामाग्री कम बिक्रि भएकाे व्यवसायीले गुनासाे गरेका छन्।