सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बिहीबारको बैठकमा ‘प्रदेश लोकसेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मत पारित भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले संशोधन गर्न बनेको उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए । विधेयकको दफा ११० लाई निलम्बन गरेर प्रदेशसभामा विधेयक पारित गरिएको हो ।  यसअघि मन्त्री शाहले बैठकमा टेबुल गरेको विधेयकमाथि छलफल गरिएको थियो । 

प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सदस्यलाई शपथ ग्रहण गराउनेसम्बन्धी व्यवस्था विधेयकमा छुटेकाले प्रदेश लोक सेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकको आवश्यकता परेको हो । बैठकमा यस अघिका विभिन्न बैठकमा प्रदेशसभा सदस्यद्वारा उठाइएका विषयको जवाफ दिँदै सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले मन्त्रालयबाट कोरोना भाइरसको सङ्क्रमण रोकथाम, व्यवस्थापनलगायत आवश्यक काम भइरहेको स्पष्ट पारे ।  मन्त्री सुवेदीले पछिल्ला दिनमा भारतमा बढेको कोरोना भाइरस सङ्क्रमणले सुदूरपश्चिम प्रदेशमा पनि जोखिम देखिएको भन्दै रोगको रोकथामका लागि प्रदेशका सीमा नाकामा उच्च सतर्कता अपनाइएको बताए । उनले प्रदेशका चारवटै सीमा नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षणको कार्य भइरहेको, सेती प्रादेशिक अस्पताल धनगढीमा थप ५० श्ययाको कोरोना विशेष अस्पताल निर्माणका लागि प्रक्रिया अघि बढेको र हालसम्म प्रदेशमा एक लाख ९१ हजार ९८५ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेको सदनलाई जानकारी गराए ।