काठमाडौं । कल्पना गर्नुहोस्, तपाईंले खाजा मगाउनुभयो तर खाजा गलत आयो । गलत भन्नुको मतलब मम मगाउँदा चाउमिन आएको भने होईन नि । सामान्य गल्ती जस्तै तपाईंले शाहकारी खाजा मगाउनुभयो तर झुक्केर अर्कै पर्न गयो ।

तब तपाईं के गर्नुहुन्छ ? पहिलो त उक्त खाजा फिर्ता पठाउनुहुन्छ र पैसा पनि माग्नुहुन्छ । अर्को फेरि आफुले खोजेको खाजा मगाउनुहुन्छ । तर भारत उत्तर प्रदेशको गाजियाबादमा एक महिलाले जे गरिन्, त्यसले सबैलाई हैरान पारेको छ ।

त्यहाँ, एक शाकाहारी महिलाले पिज्जा मागेको थियो, तर कम्पनीले मांसहारी पिज्जा पठायो । महिलाले कम्पनीलाई उपभोक्ता अदालतमा लिएर गएकी छिन् । उनले कम्पनीले गरेको त्यस गल्तीका लागि क्षतिपूर्तिको रूपमा एक करोड माग गरेकी छिन् ।

ती महिला भन्छिन्, ‘मैले भोगेका क्षतिलाई पुनःप्राप्त गर्न हामीहरुले महँगो र गाह्रो चरणहरु पार गर्नुपर्यो ।’ समाचार एजेन्सी एएनआईका अनुसार दीपाली त्यागी नाम गरेकी महिलाले यस्तो निवेदन दायर गरेकी हुन् ।

आफ्नो निवेदनमा त्यागीले ‘धार्मिक विश्वास, शिक्षा, पारिवारिक परम्परा, उनको अन्तस्करण र उत्तम छनौट’ को कारणले आफु शुद्ध शाकाहारी भएको दावी गरेकी छिन् ।

२१ मार्च २०१९ मा, दीपालीले परिवारका लागि पिज्जा आउटलेटबाट शाकाहारी पिज्जाको लागि अर्डर दिइन् । होली मनाएपछि पिज्जा ढिला आइपुग्यो तर तिनीहरूले यसलाई बेवास्ता गरे । पिज्जा आउने बित्तिकै, उनले शाकाहारी नभएको कुरा काटेर एउटा टोकेपछि थाहा पाइन् ।

त्यसपछि, उनीहरूले महसुस गरे कि पिज्जामा च्याउको सट्टा मासुका टुक्राहरू मिलाइएको थियो । उजुरी गर्ने दीपालीका वकिल फरहत वारसीले उपभोक्ता अदालतलाई भने कि दीपालीले तुरुन्त ग्राहक सेवाकर्तालाई बोलाइन र शुद्ध शाकाहारीको घरमा मांसहारी पिज्जा ल्याएर घोर लापरवाहीको मुद्दा दायर गरिन् ।

केही दिन पछि, पिज्जा आउटलेटमा प्रबन्धकले दीपालीलाई बोलाए र उजूरीकर्ताको सम्पूर्ण परिवारलाई निःशुल्क पिज्जा दिने वचन दिएका थिए । यद्यपि उजुरीकर्ताले उनलाई फेरि भने, ‘यो कुनै साधारण घटना होइन, हाम्रो धार्मिक भावनालाई चोट पुर्‍याएको छ ।’

यस पछि, पीडितको तर्फबाट दिल्ली उपभोक्ता फोरममा मुद्दा दर्ता गरियो । यसमा कम्पनीबाट जवाफ खोजिएको छ । यस मुद्दाको अर्को सुनवाई १७ मार्चमा हुँदैछ ।