सुनील गायकको जन्म पाखरा २५ हेम्जा मिलनचोक गन्धर्वटोलमा भएको हो । बुबा गोविन्द गायक र आमा इन्दिरा गायकको दोस्रो सन्तानको रुपमा २०५० चैत्त ३ गते जन्मिएका सुनीलको बाल्यकालदेखिनै संगीततर्फ रुचि थियो । बुबाले सारङ्गगी बजाउदै गीत गाउन प्राटिक्स गरेको देख्दा उहाँलाई समेत सारङ्गी बजाउन र गीत गाउन जोश आउथ्यो ।sunil-2

स्कूल लेभलको अध्ययन गौरी शंकर माविमा गर्नुभएका उहाँले स्कूलबाटनै आफ्नो प्रतिभा सुनाउन थाल्नुभयो । शुक्रबार हुने अतिरिक्त क्रियाकलापको कार्यक्रम आफै चलाउने, गाउने अवसर उहाँलाई मिल्थ्यो । यसका अलावा स्कूलमा आयोजना हुने कार्यक्रममा स्वागत गीत समेत आफै लेखेर गाउ कस्सिनुहुन्थ्यो । यसरी प्रतिभा सुनाउदा साथीभाई मात्र नभएर शिक्षकहरुले समेत हौसला दिनुहुन्थ्यो । सोही कारण अतिरिक्त क्रियाकलापको दिनमा उहाँको नाम पहिल्यै नाम टिपिसकेको हुन्थ्यो । यसले उहाँलाई अगाडि बढ्न थप हौसला मिल्यो ।

उहाँको पहिलो रेर्कड गरिएको गीत ‘तिम्रो अभाव’ भन्ने हो । डेढ वर्ष अगाडि रेर्कड गरिएको यो गीतमा आवाज, शब्द र संगीत सुनिलकै थियो । उहाँले आवाज भरेको दोस्रो गीत ‘सम्बन्ध’ हो । जुन गीतमा स्वर र संगीत सुनीलको थियो भने शब्द अम्बिका नेपालले सिर्जना गर्नुभएको थियो । ‘के खाइदिएको छु र’ बोलको समूहगत गीतमा समेत उहाँले स्वर भर्नुभयो । जुन गीतमा उहाँसहित १० जना कलाकारको आवाज सुन्न पाइन्थ्यो । उहाँको शब्द, संगीत र आवाजमा ‘कति माया’ गीत दर्शक श्रोतामाझ आइसक्यो । हालै मात्र उहाको शब्द, संगीत र आवाजमा ‘कहिले भइन’ बोलको गीत रिलिज भएको छ ।

उहाँ सुपु म्यूजिक क्रियसनको अध्यक्ष, दलित सञ्जाल हेमजाका सचिव, राष्ट्रिय संगीतकर्मी संघ पोखरा महानगर कमिटीको अध्यक्ष, प्राथमिक उपचार प्रशिक्षक, हेमजा युवा रेडक्रस सर्कलका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार रहनुभएको छ ।

डब्लुएनडिटि जीवन परिवर्तन पुरस्कार प्राप्त उहाँ उत्कृष्ट रेडक्रसकर्मीद्वारा सम्मानित व्यक्ति समेत हुनुहुन्छ । उहाँ राम्रो वाद्यवाधक समेत हो । नियमित रुपमा न्यूरोड रोधी क्लबमा उहाँले प्रस्तुति राख्नुहुन्छ । तराना म्युजिक सेन्टरमा स्वर्गीय श्रीमान थुलुङसँग संगीतको सुरुवाती ज्ञान लिनुभएको सुनीलले अहिले संगीत समेत सिकाउनुहुन्छ । धौलागिरि बोडिङ स्कूल र ज्ञान सागर एकेडेमी हेम्जाको उहाँ संगीत शिक्षक हो । उहाँ सारङ्गी स्टुडियो पोखराको सञ्चालक समेत हुनुहुन्छ । उहाँको शब्द संगीतमा भ्वाइस अफ नेपालका विजेता सिडि विजय अधिकारी, गायिका रजनी रिदम राईले गीत गाउनुभएको छ भने उहाँले संगीतबद्ध गरेको गीत नेपाल स्टार एलिना गुरुङले समेत गाउनुभएको छ । हामीले सुनीलसँग सांगीतिक यात्राका बारेमा थप केही प्रश्न गरेका छौँ ।

तपाईको सांगीतिक यात्रा कसरी शुरु भयो ?

घर परिवारको वातावरण संगीतमय थियो । किनकी बुबाले सारङ्गी बजाउनुहुन्थ्यो । बुबाले घरमा प्राटिक्स गरेका गीत सुन्ने गर्थे । यसरी सुन्दा मलाई गीत गाउन मन लाग्थ्यो । त्यहीबाट गीत गाउन, बजाउन उत्पेरित बने । वंशाणुगत गुणले पनि होला सांगीतक क्षेत्रमा नै केही गर्न कस्सिए भनौ । संगीतमय वातावरण घरमै भएकोले यात्रा सहज भयो ।

 

कस्ता गीत गाउन मनपर्छ ?
मलाई आधुनिक गीत गाउन मन पर्छ ।

बाल्यकालमा गीतसंगीत कसरी सुन्नुहुन्थ्यो ?

बाल्यकालदेखिनै गीत संगीतमा रुचि थियो । बुबाले सारङ्गी बजाउदै गीत गाउने गर्नुहुन्थ्यो । उहाँकै माध्यमबाट बाल्यकालमा गीत सुन्थे । रेडियो, टिभीबाट समेत सुन्ने हेर्ने गर्थे ।

तपाईलाई मनपर्ने गायक तथा गायिका ?

मलाई गायकमा शिव परियार र गायिकामा मिलन अमात्य मनपर्छ ।

सांगीतिक क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ ?

मेहनत गर्न सक्ने हो भने जीवन धान्न सकिन्छ । आफूमा लगाव हुनुपर्छ, संगीतको ज्ञान हुनुपर्छ । यति भयो भने सांगीतिक क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ भन्ने मेरो विश्वास हो ।

तपाईले देखेको सपना ?

संगीत क्षेत्रमा लागेर स्थापित गायक बन्ने मेरो सपना छ ।

नेपाली सांगीतिक क्षेत्रका सकारात्मक कुरा ?

नेपाली सांगीतिक क्षेत्रमा विविधता छ । विभिन्न संस्कृतिको प्रतिनिधित्व नेपाली सांगीतिक क्षेत्रले गर्दछ । लोकगीत, सुगम संगीत मात्र नभएर संस्कृति अनुसारका गीत यहाँ छन् । जुन गीतमा नेपालीपना भेटिन्छ । संगीतमा पाइने नेपालीपना नै नेपाली सांगीतिक क्षेत्रको सकारात्मक कुरा हो ।

नेपाली सांगीतिक क्षेत्रमा सुधार गर्नुपर्ने पक्ष ?

जो पनि गायक गायिका बन्ने चलन छ यसमा सुधार हुनुपर्छ । आफूमा निखारता थपेर संगीतको ज्ञान लिएर मात्र अगाडि बढ्नुपर्छ । प्रविधिको फाइदा लिएर मात्र चर्चित बन्ने होडमा लाग्नु हुँदैन ।

आफूमा निखारता कसरी थप्दै आउनुभएको ?

म बिहान दैनिक रियाज गर्छु, बजारमा आएका गीतहरु सुन्छु, बेलुका न्यूरोड रोधी क्लबमा गाउँछु, बाद्यवादनमा साथ दिन्छु । नियमित गरिने यी कार्यले निखारता थपिदै गएको छ ।

संगीत क्षेत्रबाट पाएको कुरा ?

केही मानिसले चिन्नु भएको छ । सर्पोट गर्नुहुन्छ । यसले मलाई हौसला बढेको छ । केही गर्न सक्छु भन्ने मनमा आँट छ ।

अबका योजना के छन् ?

मेरा संगीतबद्ध गीतहरु ‘मुटुभरि माया’, ‘माया तिम्रै हो’ लगायतका गीत अब पस्कदै छु । निरन्तर सांगीतिक क्षेत्रमा क्रियाशील बन्ने योजना बनाएको छु ।

अन्तमा के भन्नुहुन्छ ?

मेरो शब्द, संगीत र आवाज रहेको ‘कहिले भईन’ गीत सार्वजनिक भएको छ । गीत सारङ्गी म्युजिक स्टुडियो युट्युब च्यानल मार्फत रिलिज गरिएको छ । गीतको भिडियोमा रोहन असिफ र जानकी थापाको अभिनय हेर्न पाइन्छ । सारङ्गी म्युजिक स्टुडियोको प्रस्तुतिमा बनेको म्युजिक भिडियोको छायाँकन पोखराको काहुँडाँडा र लेकसाइड आसपास गरिएको हो । भिडियो सुन्दर बनेको छ । भिडियोको निर्देशन युवा निर्देशक नेत्र गुरुङले गर्नुभएको छ । यो गीतलाई हेरेर, सुनेर प्रतिक्रिया दिन सबै दर्शक श्रोतामाझ आग्रह गर्दछु ।