इटहरी । बजारमा अहिले पनि  चोरी पैठारीबाट आएका जुत्ता चप्पलका कारण स्वदेशी बस्तुको प्रवद्र्धन हुन सकेको छैन । उपभोक्ता र उत्पादकको बिचमा सिधा सम्बन्ध स्थापित गर्ने र स्वदेशी बस्तुको प्रवद्र्धन गर्ने हेतुले कोशी प्रदेशको ब्यवसायीक केन्द्र इटहरीमा अहिले जुत्ताचप्पल मेला जारी छ । नेपाली जुत्ता चप्पलको बजार, विदेशी उत्पादनको प्रभाव, स्वदेशी जुत्ताचप्पलको ब्यवस्थापन र चुनौतीका बिषयमा केन्द्रीत रहेर प्रथम इटहरी जुत्ता चप्पल महोत्सव २०८० आयोजक समितिका संयोजक तथा बिएफ डियरहिल सुजका प्रबन्धक होमनाथ उपाध्यायसँग गरिएको कुराकानीको सार ः

इटहरीमा जुत्ता चप्पल महोत्सव गर्दैगर्दा तपाईलाई कस्तो लागि रहेको छ ?

एउटा कुरा त गौरब लागेको छ। अर्कोकुरा यहाँ आउँदै गर्दा यहाँका स्थानीय ब्यवसायीले हामीलाई सर्बसुलभ रुपमा स्वागत नगरेको अबस्थापनि हामीले झेल्नु पर्यो । यद्यपी हामी प्राउड नै गर्छौ यो इटहरीमा आएर यहाँका ब्यवसायी, यहाँका सञ्चारकर्मी तथा यहाँका बिबिध पक्षले हामीलाई स्वागत गर्नु भएको छ। हामी खुसी छौँ ।

स्थानीय ब्यवसायीले सहज स्वीकार गरेनन् भन्नुभयो, तपाईँहरुलाई नस्वीकारेको हो की जुत्ताचप्पल महोत्सब गर्न नदिएको हो ?

हामीले ल्याएको ब्यापारिक, ब्यवसायीक प्रवद्र्धनको अभियानलाई स्वीकार नगरेको अबस्था हो । हामी स्थानीय रुपमा मन्दीको बेलामा पनि ब्यवसायको प्रवद्र्धन र  बजार चलायमान गराउनु पर्छ भन्ने अभियानको साथ देशभरी नै यस्ता खालका  स्वदेशी बस्तुको प्रचार प्रसार गर्ने हेतुले अभियान संचालन गर्छौ। त्यही ब्यवसाय प्रवद्र्धन गर्ने कुरालाई नै स्वीकार नगरेको होकी जस्तो हामीलाई लागेको छ  ।

स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न इटहरीमा शुरु भएको यो अभियान कस्तो खालको हो ?

यो हामी नेपाल भरी नै गर्छौ । हाम्रो स्लोगन छ, ‘स्वदेशी उत्पादनको प्रवद्र्धन, हाम्रो अभियान’ यो बिशेष हाम्रो अभियान हो । स्थानीय स्तरमा उत्पादन भएको बस्तुलाई आम उपभोक्ता माझ पुर्याउने र आफ्नो ब्राण्ड, आफ्नो उत्पादन, उत्पादनको गुणस्तरको बारेमा उपभोक्तालाई जानकारी गराउने र उद्यामीले उत्पादन गरेका सामाग्रीहरु सिधै उपभोक्तासम्म पर्याउने तथा आफ्नो उत्पादनको गुणस्तरको परीक्षण गराउनु नै हो । त्यही परीक्षण गराउन हामीले इटहरीलाई रोजेका हौँ ।

तपाईहरुले यस्ता जुत्ता चप्पल महोत्वस यस अघि अरु सहरहरुमा पनि लगाईसक्नु भएको हो ?

यो भन्दा पहिला पनि हामीले धेरै सहरहरुमा यस्ता जुत्ताचप्पल मेला लगाईसकेका छौँ । मेलाको इतिहासको बि.सं. २०५९ सालदेखिको हो । त्यो बेला छालाजुत्ता तथा बस्तु उत्पादक संघ भनेर थियो । त्यो संघले २०५९ सालदेखि हामी बस्तुगत संघले एकल रुपमा मेला महोत्सवको शुरुवात गरेको हो । यो क्रम २०६२।०६३ सालसम्म हामीले सामान्य प्रदर्शनीको रुपमा मात्र राख्ने गरेका थियौँ । त्यो बेला नेपाली जुत्ता चप्पल उत्पादक कम्पनीहरुको संख्या पनि कम थियो । उत्पादक भएर पनि नेपाली भनेर ब्राण्डिङ गर्ने, प्रचारप्रसारको अभाव थियो । मान्छेले नेपाली भनेर हाम्रो उत्पादन बिक्ने अबस्था थिएन ।  नेपाली भएपनि बिदेशबाट आउने जुत्ताको नाममा राखेर बेच्नु पर्ने बाध्यता थियो । एकाध कम्पनी बाहेक विदेशी नाममा जुत्ता बनाएर बेच्थ्यौँ ।  मेला महोत्सव शुरु गर्न थालेपछि त्यस्ता मेलामा विदेशी नाम गरेका जुत्ता राख्न मिलेन त्यसपछि मात्र हामी ब्यवसायी सजग भयौँ । अनी मात्र आफ््नै ब्राण्डको नाममा, आफ्नो मौलिक उत्पादनलाई प्रचारप्रसार गर्नु पर्छ भनेर आफ्नै ब्राण्डमा जुत्ताहरु उत्पादन गर्न शुरुवात गरेका हौँ । २०६८।०६९ सालदेखि हामीले एउटा सामुहिक सोरुम ‘नेपाली जुत्ता घर’को स्थापना गरेर विभिन्न ठाउँहरुमा ब्यापार मेला गर्न शुरु गरेको हो । त्यसपछि फुटवेयर  म्यानुफ्याक्चरिङ एशोसिएसन अफ नेपाल परिवर्तन गरेर नाम राखिएको हो । यस फुटवेयर  म्यानुफ्याक्चरिङ एशोसिएसनले बर्षमा दुई पटक काठमाडौँमा मेला लगाउने गरेको छ।  एक पटक औद्योगिक प्रदर्शनी र एक पटक जुत्ताचप्पल मेलाको नामले गरिसकेका छौँ । विराटनगरमा २ पटक फुटवेयर मेला गरेका छौँ? बुटवलमा ३ पटक, हेटौँडा, पोखरा  तथा विर्तामोड लगायतका मुख्य सहरहरुमा यस्ता  खालका मेला तथा प्रदर्शनी गर्दै आएका छोँ ।

यस्ता मेलाहरुबाट तपाईँहरुले के प्राप्त गर्नु भएको छ   ?

नेपालमा पनि  जुत्ता बन्छ र ? नेपाली उत्पादन पनि राम्रो छ  र ? भन्ने खालका भ्रमलाई चिर्ने काम गरेको छ। हामीसँग सरोकार राख्ने, नेपाली उत्पादनलाई मायाँ गर्ने उपभोक्ताले त्यो मेलामा जुत्ता किनेपछि  त्यसयता मैले बिदेशी जुत्ता लगाएको छैन भन्ने गरेको पाएका छौँ  । नेपाली ब्राण्ड मात्र लगाउँछु भन्ने धेरै उपभोक्ताहरु हामीसँग जोडिनु भएको छ। उपभोक्ताको चाहना अनुसार पनि आफ्नो उत्पादनको प्रवद्र्धनमा प्रत्यक्ष आफ्ना उपभोक्ताको बिच पुग्ने एउटा अबसरको रुपमा हामीले लिएका छौँ । 

अरु सहरहरुमा मेला गर्दा स्वागत गरियो, तर इटहरीमा ब्यवसायीबाट विरोध नै हुनुको कारणलाई कसरी लिनु भएको छ?

अब हामीहरुबाट पनि केही कमी कमजोरी भए होलान् । यहाँका ब्यवसायीहरुले आउन भन्दा अगाडी हामीसँग समन्वय र छलफल गर्नुपथ्र्यो  गर्नु भएन भन्ने गुनासो थियो । त्यो उहाँहरुको गुनासोलाई हामीले स्वीकार गर्नैपर्छ, हामी गर्छौ ।  अन्य ठाउँ र यहाँको मेलामा अरु भन्दा केही फरक जस्तो हामीलाई लाग्दैन । जुन हिसावले हामी अरु ठाउँमा प्रस्तुत हुन्थ्यौँ, त्यही हिसावले नै हामी इटहरीमा पनि उपस्थित भएका हौँ । अब इटहरीलाई नै किन छानियो भन्ने प्रश्न उठ्न सक्छ । हामी विराटनगर र विर्तामोडमा गरिसकेका छौँ । इटहरी पूर्व,पस्चिम र उत्तरी भेगका ४।५ जिल्लाको ट्रान्जित प्वाईन्ट हो । विराटनगर एउटा जिल्ला लक्षित हुन्थ्यो, बोर्डर क्षेत्रका उपभोक्तालाई लक्षित गरिएको थियो  । यसपाली इटहरीमा गर्दा उत्तरी ४।५ जिल्लाको उपभोक्तालाई लक्षित गरि यहाँ ब्राण्डिङ गर्दा उपयुक्त माईलेज पाईन्छ भन्ने हाम्रो अपेक्षा हो । हामी यहाँ आए पनि मेला महोत्सवले सबैलाई फाईदा पुग्छ । अरुभन्दा हाम्रो फुटवेयर महोत्सव फरक छ ।  अन्य संघ संस्थाले आयोजना गरेको महोत्सवमा टिकट बिक्रि बितरण हुन्छ, प्रबेश शुल्क लिईन्छ, गाना बजाना हुन्छन्, खानपानको स्टल हुन्छन, पिङहरु खेलिन्छ, रमाईलो मेलाहरु हुन्छन्, राष्ट्रिय कलाकारहरु ल्याईन्छन् तर यो मेला उत्पादनको विशुद्ध प्रवद्र्धन गर्ने हो । यो मेला भनेको बजार प्रवद्र्धन गर्ने अभियान हो । मेला चल्दैनन् भनेका ठाउँहरुमा पनि प्रसस्त ब्यापार भएको छ र स्वदेशी बस्तुको प्रचार प्रसार भएको छ । 

उपभोक्तामा स्वदेशी बस्तु प्रतिको मायाँ छ, बजारमा भन्दा मेला महोत्सवमा उपभोक्ताको भिड हुन्छ भन्ने ब्यवसायीहरुमा पर्नसक्छ । तर त्यो कुरामा म सहमत छैन ।  जुन उदेश्यकोलागि सहरमा कार्यक्रमको आयोजना हुन्छ त्यसको प्रचारप्रसार, मिडिया ब्राण्डिङ सबैकुरा गरिरहँदा  जुन बस्तुको प्रवद्र्धनकोलागि काम भईरहेको हुन्छ त्यसको चर्चा बढी हुन्छ । जुत्ता चप्पल पुरानो भएको कारण भोली पर्सी जाउँला भनेर बसीरहेको मान्छेपनि जागरुक भएर बजार जान्छन् । हामी मेलामा ५ वटा ब्राण्ड मात्र छौँ । सबैको चाहना, रुची अनुसारको जुत्ता त हामी दिन सक्दैनौँ । बजारमा आईसकेको ग्राहक हामीसँग चित्त नबुझ्दा त्यही बजारमा नै गएर किन्ने हो । दुई चार वटा ब्राण्ड त हामीसँग छन्, बाँकी ब्राण्ड त बजार मै छन् । जाने ग्राहक भनेको बजारमा नै हो । हामीले त बजारमा ग्राहक ल्याईदिने काम गर्छौँ । यहाँका ब्यवसायी साथिहरु निरत्साहित हुनु पर्ने अबस्था हैन, उत्साहित हुनु पर्ने हो । 

स्वदेशी बस्तुको बजारीकरण र प्रवद्र्धनलाई  भारतीय उत्पादनले कतिको अप्ठ्यारो पारेको छ ?

बोर्डरसँग जोडिएका खुल्ला सिमानाको नजिक भएका सबै सहरहरुमा यो समस्या छ । विजक नै नभई आउने, भन्सार नतिर्ने सबै खालका उत्पादनहरु हाम्रो प्रतिस्पर्धी उत्पादन हुन् । प्राय गरेर बजार क्षेत्रमा  बाहिरबाट खुल्ला बोर्डर मार्फत बिना भन्सार आएका, चोरी पैठारी भएका बस्तु नै मुख्यत प्रतिस्पर्धी हुन् ।

धेरै टाढा जानै पर्दैन । विराटनगरको जुत्ता पसलहरुमा गएर हेर्यो भने ८० देखि ९० प्रतिशत भारतीय उत्पादन नै विक्री वितरण भएको पाईन्छ ।  यहाँका बाणिज्य विभाग तथा अन्य सरोकारवालाहरुले  त्यहाँ बिक्री बितरण भएको जुत्तामा बिल बिजक खोजी गर्ने, आयातीत प्रज्ञापन पत्र खोज्ने हो भने बिलको केही मात्रामा मात्र पाईन्छ होला अन्यथा त्यस्ता विक्री बितरण भएका जुत्ताहरुमा बिल बिजक जारी भएकै पाईँदैन । यसरी हेर्दा बोर्डरमा चोरी पैठारीको बिगबिगी नै छ । 

तपाईहरु जुत्ता चप्पल उत्पादकका समस्याहरु चै के हुन्  ?

फुटवेयरसँग सम्बन्धित धेरै समस्याहरु हाम्रो माझमा छ ।मुख्य चुनौती भनेको चोरी पैठारी भएर आएका जुत्ता चप्पलहरु बजारमा पाउने नै हो  । हाम्रो कच्चा पद्धार्थ र तयारी बस्तुको बिचमा भन्सार दरभाउ तात्वीक फरक नहुने गरेको छ।  कतिपय अबस्थामा हामीले प्रयोग गर्ने कच्चा पद्धार्थ अरु कसैकोलागि फिनिस प्रोडक्ट हुन् । कच्चा पद्धार्थको पहिचान अनुसार भन्सार दर नहुँदा हामीले उत्पादन गर्ने तयारी बस्तुको भन्दा महँगो दरमा कच्चा पद्धार्थको भन्सार दर तिरिरहेको अबस्था छ।  नेपाल भित्रै सबै खालको कच्चा पद्धार्थको सहजता छैन, सामानको सहज डेलिभरी नहुने, कच्चा पद्धार्थको अभावले गर्दा एउटा सामानको माग छ तर कामदारलाई अर्कै काम लगाउनु पर्र्ने बाध्यता छ । अहिले पनि बाजरमा जुत्ता उत्पादनमा दक्ष कालिगढको अभाव छ ।   धेरै कालीगढ उत्पादन गरिएको छ, तरपनि बैदेशिक रोजगारीको आकर्षणले कामदार टिकाउनै समस्या छ । एक दुई बर्ष मात्र पनि टिकाउन नसक्नु हाम्रो बाध्यता हो ।  यहाँ ३५।४० हजार आरामले कमाउँदा कमाउँदै पनि त्यस्ता कामदार विदेशिएका छन् । 

चोरी पैठारी नियन्त्रणमा राज्यले लचकता अपनाएकै कारण स्वदेशी उत्पादन अप्ठेरोमा परेको हो ?

पक्कै पनि त्यो देखिन्छ  । राज्यले चाहँदा गर्न सक्छ भन्ने एउटा मात्र उदाहरण कोभिडको समयलाई हेरे पुग्छ । लकडाउनको बेलामा बोर्डर क्षेत्रमा ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो, आवत जावत नै बन्द थियो । त्यो बेला पूर्ण रुपमा गरिएको लकडाउन पछि खुलेको बजारमा नेपाली उत्पादनले राम्रो बजार लिएको थियो । ६ महिना भन्दा बढीसमयसम्म स्वदेशी उत्पादनको एकछत्र ब्यवसाय थियो ।  चोरी पैठारी नियन्त्रणकोलागि राज्यले चाह्यो भने धेरै गर्न सक्छ । भन्सार दर बढाउने, जुत्ताको मुल्य बढाउने, बाहिरबाट आएका उत्पादनलाई मुल्याङ्कन बढाउने यी सबै प्रयासहरु पनि नभएका हैनन् । हामीले लबिङ गर्दा त्यो कुरालाई  सरकारले स्वीकार गरेको पनि छ। अर्थमन्त्री युवराज खतिवडा हुँदा जुत्ताको भन्सार दरलाई ३० प्रतिशतबाट ४० प्रतिशतसम्म पुर्याईएको थियो । जुत्ता चप्पल स्वदेशी उत्पादन हो यसको प्रवद्र्धन गर्नुपर्छ भनेर सरकार लागिरहेको पनि छ तर यसको कार्यान्वायन पक्ष असाध्यै कमजोर छ । त्यो बेला बढेको जुत्ताको भन्सार दरले अहिले नेपाली उत्पादकलाई ब्याकफायर भईरहेको छ। ३० प्रतिशतको दरबन्दीलाई ४० प्रतिशत गरियो । त्यो बचाउनकोलागि ब्यवसायीले थप चोरी पैठारी गर्ने गरेको देखिन्छ । भारतीय सीमा क्षेत्रमा चोरी पैठारी बढ्यो । बरु थोरै मात्र भन्सार दर बनाएको भए थोरै भएपनि भन्सार तिरेर लग्नु पर्छ भन्ने हुनेथियो की जस्तो देखिन्छ । अहिले भन्सार बृद्धि हुँदा चोरी पैठारी बढेको अबस्था छ । ।  कच्च पद्धार्थको दर पनि यो बर्ष बढेको छ । १०, १५ प्रतिशत भएको दरलाई २० प्रतिशत गरियो । सरकारलाई सहयोग गर्नु पर्छ, राजश्व बढाउनु पर्छ भनेर हामीले नै स्वीकार गरेका हौँ ।

अहिलेको जुत्ता चप्पल बजारको अबस्था के हो ?

कोभिड पछि जुत्ता चप्पलको बजार खस्किएको छ । जसरी अरु उद्योगहरु प्रभावित भएका छन् त्यसैगरि यो क्षेत्र पनि प्रभावित भएको छ।  हाम्रा ग्राहकहरुले मासिक भाडा तिर्न सकेका छैनन्, उनीहरुको दोकान घरखर्च चलाउन हम्मे छ, हामीले दिएको उधारो तिर्न सक्नु भएको छैन । अहिलेको अबस्था राम्रो छैन । 

तपाईहरुको जुत्ताचप्पल मेलाबाट उपभोक्ताले के पाउने  ?

हामीले उत्पादन गरेको निश्चित ब्राण्डका बस्तुहरु ब्यवसायीको रोजाईमा मात्र जाने हो । उपभोक्ताको रोजाईमा भन्दा पनि हाम्रा डिलरहरुको रोजाईमा जाने हुन् । सबै उत्पादन, सबै भेराईटी, सबै डिजाईन उपभोक्ताकोसँग पुग्दैन । अर्को भनेको उपभोक्ता र उत्पादकको बिचमा जाने मुल्यको फरक छ त्यो केही रुपमा हामी सिधै उपभोक्तासम्म पुर्याउँछौँ । कतिपय हामीले उत्पादन गरेका तर डिलरले मन नै नपराएका उत्पादनहरु अहिले यहाँ भिड लागेको देखिन्छ ।  उपभोक्ता र ब्यापारीको रोजाई नै फरक हो भन्ने हामीले मेला, महोत्सव र प्रदर्शनीबाट पाएका छौँ । यहाँको उपभोक्तालाई हाम्रो उत्पादन सुपथ मुल्यमा पुर्याउनकोलागि पनि यो मेला हो । तपाईँहरुले देख्नु नै भएको होला, इटहरी जूत्ताचप्पल महोत्सबमा १५ देखि ५० प्रतिशतसम्म छुटमा उत्पादन बिक्री वितरण भईरहेको छ।