Prem-Rawat-1-750x535आजको काम भोलिलाई कहिले पनि छोड्नु हुँदैन । तर, हामी एउटा मात्र काम होइन, बरु आफ्नो जीवनका सबै कामहरु भोलिका लागि छोडिदिन्छौँ । अनि भन्छौँ, “आज होइन, भोलि गरौँला !”

भोलि के हो र आज के हो ? तपाईं भोलि के होला भन्दै भोलिको चिन्तामा बाँच्नुहुन्छ । तर, तपाईं आजमा जीवित हुनुहुन्छ । तपाईं भोलिको दिनमा बाँच्नै सक्नुहुन्न । किनभने, यदि भोलि आयो भने पनि त्यो आजकै रूप लिएर आउँछ । मूलतः तपाईंका आशा र चिन्ताहरु भोलिका लागि हुन्छन् । तर, त्यो भोलि कहिल्यै पनि आउँदैन । आज व्यतित त भइरहेको हुन्छ नै तर ‘आज’मा चाहिँ तपाईंको ध्यान नै छैन ।

तपाईंले पूरै जीवन ‘आजको दिनमा’ नै जिउनु छ । यदि दुई शब्द कसैलाई प्रेमपूर्वक भन्नु छ भने पनि त्यो आज नै भन्नुपर्छ, भोलि होइन । एउटा समयमा तपाईं हुनुहुन्न थियो । आज तपाईं हुनुहुन्छ । अनि, एक दिन यस्तो ‘आज’ पनि आउनेछ, जुनबेला तपाईं रहनुहुने छैन । यदि तपाईँ आफ्नो जीवनमा सचेतना ल्याउन चाहनुहुन्छ भने ब्युँझिएको अवस्थामा पनि अझै ब्युँझनुहोस् ।

तपाईंले ठूला–ठूला योजना बनाउनु भएको होला । तर, के तपाईँले यो जीवनरूपी रेलमा यात्रा गर्नका लागि पनि कुनै योजना बनाउनु भएको छ त ?

यस जीवनमा मानिसले जे–जे गर्छन्, जुन चीजमा मानिसको रुचि हुन्छ, जुन चीज उनीहरुलाई राम्रो लाग्छ– तिनलाई प्राप्त गर्नका लागि उनीहरु धेरैभन्दा धेरै मिहेनत गर्छन् । तर, उनीहरु के कुरालाई बिर्सन्छन् भने यो जीवनरूपी रेलगाडीलाई पनि कुनै न कुनै दिन छोडेर जानुपर्ने छ ।

यो जीवनरूपी रेल यस्तो अद्भूत छ जुन कहिल्यै पनि रोकिँदैन । निरन्तर चलिरहन्छ । हामी सबै यो जीवनरूपी रेलमा बसेका छौँ अनि यो लगातार चलिरहेको छ । त्यसकारण एकपटक यो रेलमा चढिसकेपछि त सक्कियो । अनि, ओर्लियौँ भने पनि फेरि चढ्ने अवसर नै पाइँदैन । यो दिन–रात चलिरहेको छ, तर यो कतै पनि जाँदैन । तपाईं रेलगाडीमा बस्नु भएको छ ? त्यसको एउटा प्रमाण छ । तपाईंको श्वासलाई हेर्नुहोस् त । यो चलिरहेको छ ! यो श्वास, जुन आइरहेको छ र गइरहेको छ । यो हो– जीवनको रेलगाडी । यो तपाईंको यात्राको सबैभन्दा महŒवपूर्ण हिस्सा हो ! यो श्वासलाई खेर नफाल्नुहोस् । सृष्टिकर्ताले यसलाई सित्तैँमा दिइरहेका छन् । यो श्वासको मूल्य तिर्न नसकिने भएकाले नै सृष्टिकर्ताले हामीलाई सित्तैँमा दिइरहेका छन् । संसारमा जतिसुकै धन होओस् तर कसैले पनि यो श्वासलाई किन्न सक्दैन ।

जुन श्वास गइरहेको छ, त्यो कहिल्यै पनि फर्केर आउँदैन । के तपाईंलाई थाहा छ आज कतिवटा श्वास निस्किएर गए ? यो सबैभन्दा महŒवपूर्ण चीज हो । यो एउटा यस्तो चीज हो जसलाई भुल्नु हुँदैन । अरू धेरै कुरा त तपाईँले कसैलाई दिन र कसैबाट लिन पनि सक्नुहुन्छ । तर, यो एउटा यस्तो चीज हो जसलाई चाहेर पनि कसैले तपाईंलाई न त दिन सक्छ न त तपाईंबाट लिन नै सक्छ । हो, सृष्टिकर्ताले तपाईंलाई यो अनमोल उपहार दिएका छन् । यसलाई स्वीकार गरेर आफ्नो जीवनलाई सफल बनाउनुहोस् । किनभने, एक दिन यो श्वास आउने–जाने क्रम बन्द हुनेछ ।

यो एउटा यात्रा हो । यो यात्रा अहिले चलिरहेको छ । तपाईंले अहिले जे देखिरहनुभएको छ, त्यो सबै यो श्वासरूपी आशीर्वादका कारणले सम्भव भएको हो । यो श्वासविना तपाईंका लागि केही पनि छैन । सबैभन्दा ठूलो कुरा त यो हरेक श्वासमा अटुट शान्ति लुकेर बसेको छ । प्रत्येक श्वासमा नै छ एउटा अद्भुत शक्ति ! जुन हरेक मानिसभित्र रहेको हुन्छ । यो श्वास आउनु–जानु नै सृष्टिकर्ताको तपाईंमाथि वर्षिएको कृपा हो ! यो नै उनको चमत्कार हो । तपाईंभित्र यो चमत्कार त हरेक क्षण भइरहेको छ तर तपाईंले यसलाई बुझ्न सक्नुभएको छैन ।
यो जीवनरूपी रेलको यात्रा निरन्तर जारी छ । यो यात्रालाई आनन्दमय बनाउनुहोस् । अनि, यो रेलगाडीलाई छोड्नुपर्ने दिनमा अलिकति समय पाए हुन्थ्यो भनेर चिन्ता गर्नु नपरोस् । तपाईँ पूर्ण तरिकाले सन्तुष्ट भएर जानुहोस् ।

एउटा कथा छ । एकजना मानिसले नदीको छेउमा एउटा एकदमै आकर्षक र राम्रो घर बनाउन लगाए । उनको कोठाबाट नदीको मनोहर दृश्य देखिन्थ्यो । हरिया रुखहरु देखिन्थे । उनले आफ्नो नयाँ घरको गृह प्रवेशको सुअवसरमा पाहुना, इष्टमित्र, छिमेकी तथा आफ्ना व्यापारी मित्रहरुलाई पनि आमन्त्रण गरे । सबैजनाले केही न केही उपहार लिएर आएका थिए । ठूलो भोज चलिरहेको थियो । सबै जना खुसी भएर भोजको आनन्द लिइरहेका थिए । यत्तिकैमा एकजना सन्त टुप्लुक्क आइपुगे अनि उनले ढोका ढक्ढक्याए ।

ती घरधनीले ढोका खोलेर साधे, “तपाईं को हुनुहन्छ ?”
सन्तले भने, “म तिम्रो शुभचिन्तक हुँ । तिमीलाई केही भन्नलाई आएको छु ।”
ती व्यक्तिले भने– “किन ?”
त्यसपछि सन्तले भने, “तिमीले नदीको छेउमा अत्यन्तै राम्रो घर बनाएछौ । यहाँ नदी पनि छ । रुख बिरुवाहरु पनि छन् । सबै कुराहरु छन् तर तिमीलाई पौडी खेल्न आउँछ त ?”
ती व्यक्तिले भने, “मलाई किन पौडी खेल्नु प¥यो र ? म त नदीमा जाँदै जान्न !”
सन्तले भने, “भाइ ! तिमीलाई यदि पौडी खेल्न आउँदैन भने पौडी खेल्न त सिक न । के तिमीसँग डुङ्गा छ त ?”
उनले भने, “मलाई डुङ्गा किन चाहिएको छ र ? म त नदीमा जाँदै जाँदिन । म घरमै बस्छु ?”
अनि, सन्तले भने, “भाइ ! घर त तिमीले नदी छेउमै बनायौ नि हैन र ?”

यति सुनेपछि घरधनी मानिसमा रिसको सीमा रहेन । उनले ढोका बन्द गरिदिए । ती सन्तलाई कोही मूर्ख मानिस रहेछ भन्ने ठाने । फेरि आफ्नो भोजको रमाइलोमा लागे । तर, उनको मनमा लागिरह्यो– आखिर ती शुभचिन्तकचाहिँ को थिए होलान् त ? उनले पौडी खेल्न जान्दछौ कि जान्दैनौ भनेर किन सोधे ? धेरै कुराहरु दिमागमा घुमिरहेको थियो ।

तर, उनले न त डुङ्गा किने न त पौडी खेल्न नै सिके । केही महिनापछि वर्षाको मौसम सुरु भयो । वर्षा हुन थाल्यो । हुरीबतास चल्न थाल्यो । त्यसपछि नदीमा पानीको सतह बढ्दै आयो । नदीको पानी माथि आउँदै गयो, आउँदै गयो । हुँदाहुँदै नदी भरिएर बाहिर आयो । सबैजना भाग्न लागे । जसलाई पौडी खेल्न आउँथ्यो उनीहरु पौडी खेलेर यताउता जान्थे । जोसँग डुङ्गा थियो उनीहरु डुङ्गामा चढेर भाग्न लागे तर उनलाई न त पौडी खेल्न आउँथ्यो न त उनीसँग डुङ्गा नै थियो । अन्तमा उनी त नदीमा डुब्ने नै भए । किनभने, उनले कहिल्यै यस्तो अवस्था आउला भनेर सोचेका पनि थिएनन् र योजना पनि बनाएका थिएनन् ।

तपाईं पनि आफ्नो जीवनमा योजना बनाउनुहोस् । एक क्षणका लागि योजना बनाउनुहोस् । भोलि के हुन्छ र हिजो के भएको थियो भन्ने कुराको चिन्ता गरेर केही फाइदा छैन । किनभने, तपाईं उभिनु भएको ठाउँबाट तपाईंले रेलगाडी चलिरहेको देख्नु भएको छ । अरू केही चीज चलिरहेको छैन । रुख पनि जहाँको त्यहीँ छ । सडक पनि जहाँको त्यहीँ नै छ । रेलगाडी चलिरहेको छ । यसको अर्थ हो– यो समयको रेलगाडी चलिरहेको छ । तपाईं त्यहीँ उभिरहनु भएको छ । ठिक त्यस्तै प्रकारले प्रत्येक श्वाससँगै त्यो चीज, त्यो अद्भुत शक्ति आइरहेको छ र गइरहेको छ । त्यसले हरेक क्षण तपाईंलाई छोइरहेको छ ।

आफ्नो जीवनमा त्यो हृदयको तिर्खालाई चिन्नुहोस् । फलतः तपाईं आफूभित्र रहेको त्यस अद्भुत चीजसँग साक्षात्कार गर्न सक्नुहोस् । त्यसको अनुभव गरेपछि यो जीवन सफल हुन्छ । शान्ति तपाईंभित्रै छ । त्यसलाई खोज्नुहोस्, त्यसलाई जान्नुहोस् र आफ्नो जीवनमा शान्तिको स्थापना गर्नुहोस् । शान्ति कोरा विश्वास होइन, अनुभव गर्ने कुरा हो । अनुभवका लागि एउटा यस्तो हृदय चाहिन्छ जुन पहिलादेखि नै अन्धविश्वासरहित होओस् । आफूभित्रको छल, कपट, लोभ आदिलाई निकालेर त्यो चीजको अनुभव गर्नुहोस् । त्यसपछि तपाईंको जीवन पनि सुख र शान्तिले भरिपूर्ण हुनेछ ।

(यो लेख प्रेम रावतको सन्देशबाट साभार गरी अनुवाद गरिएको हो । उहाँ मानवता र शान्तिका विषयमा चर्चा गर्ने अन्तर्राष्ट्रिय वक्ता हुनुहुन्छ । उहाँको सन्देशका बारेमा थप जानकारीका लागि www.premrawat.com र प्रतिक्रियाका लागि [email protected] लाई प्रयोग गर्न सक्नुहुनेछ ।)