एक पटकको चलन, सात दिनको उमेर। जारा, एच एन्ड एम, फरेभर २१ जस्ता ब्रान्डले सुरु गरेको “फास्ट फेसन” अहिले “अल्ट्रा फास्ट फेसन” को रूपमा झन् विकराल बन्दै गएको छ। साधारण भाषामा भन्नुपर्दा, फास्ट फेसन भनेको ठूलो मात्रामा सस्तो, कम गुणस्तरको र छिटो उत्पादन गरिने कपडाको उद्योग हो। केही वर्षअघिसम्म मौसमअनुसार फेसन परिवर्तन हुन्थ्यो, तर अहिले सामाजिक सञ्जाल र अनलाइन व्यापारका कारण हरेक हप्ता नयाँ “माइक्रो–सिजन” जन्मिन्छ। टिकटक, इन्स्टाग्राम र इन्फ्लुएन्सर संस्कृतिले उपभोक्तालाई निरन्तर नयाँ कपडा किन्ने दबाब सिर्जना गरिरहेको छ। फलस्वरूप, कपडा अब आवश्यकताको वस्तु मात्र नभई केही दिनको ट्रेन्ड बनेको छ।
यस्ता सस्ता कपडाको उत्पादनमा प्रयोग हुने रसायन मानव स्वास्थ्यका लागि गम्भीर खतरा बन्न थालेका छन्। विभिन्न अनुसन्धानले फास्ट फेसनका कपडामा लेड, फर्माल्डिहाइड, फर्थालेट तथा एजो डाई जस्ता विषाक्त रसायन पाइने देखाएका छन्। यी रसायनले छालामा एलर्जी, हर्मोन असन्तुलन, श्वासप्रश्वास समस्या, रोग प्रतिरोधात्मक क्षमतामा ह्रास तथा क्यान्सरसम्म निम्त्याउन सक्छन्। अझ चिन्ताको विषय के भने, विकासशील देशहरूमा यस्ता कपडाको गुणस्तर परीक्षण प्रभावकारी रूपमा नहुँदा उपभोक्ता अनजानमै जोखिमपूर्ण सामग्री प्रयोग गर्न बाध्य छन्।
तर फास्ट फेसनको समस्या स्वास्थ्यमा मात्र सीमित छैन; यसको सबैभन्दा गम्भीर असर वातावरणमा देखिन्छ। अहिले संसारभर उत्पादन हुने अधिकांश सस्ता कपडा केही पटक मात्रै लगाइन्छन् र त्यसपछि फालिन्छन्। ती फालिएका कपडाहरू अन्ततः नदी, खोला, खुला जमिन वा ल्याण्डफिल साइटमा पुग्छन्। कपडा उद्योगबाट निस्कने फोहोर जैविक रूपमा सजिलै नगल्ने भएकाले दशकौंसम्म वातावरणमा रहिरहन्छ। विशेषगरी पोलिएस्टर, नायलन र एक्रिलिक जस्ता कृत्रिम फाइबर प्लास्टिककै एक रूप भएकाले यी सामग्री फुटेर सूक्ष्म प्लास्टिक अर्थात् माइक्रोफाइबरमा परिणत हुन्छन्। यही माइक्रोप्लास्टिक अहिले विश्वव्यापी प्रदूषणको प्रमुख कारण बनेको छ।
संयुक्त राष्ट्र वातावरण कार्यक्रम (UNEP) र एलेन म्याकआर्थर फाउन्डेशनले सन् २०१७ मा प्रकाशित प्रतिवेदन अनुसार फेसन उद्योग विश्वको कुल कार्बन उत्सर्जनको करिब १० प्रतिशतका लागि जिम्मेवार छ। यो अन्तर्राष्ट्रिय उड्डयन र समुद्री यातायातबाट हुने संयुक्त उत्सर्जनभन्दा पनि बढी हो। फास्ट फेसनमा कपडा उत्पादन, ढुवानी, प्याकेजिङ र फोहोर व्यवस्थापनको चक्र अत्यन्त तीव्र हुने भएकाले यसको कार्बन फुटप्रिन्ट परम्परागत फेसनभन्दा धेरै गुणा बढी हुन्छ। उत्पादन बढाउन अत्यधिक पानी, ऊर्जा र रसायन प्रयोग गरिन्छ। एउटा जिन्स बनाउन मात्रै हजारौं लिटर पानी खर्च हुने तथ्यले पनि यस उद्योगको संसाधन दोहन कति भयावह छ भन्ने देखाउँछ।
सन् २०२५ जुलाईमा म्यानचेस्टर विश्वविद्यालयले प्रकाशित गरेको अनुसन्धान अनुसार हरेक वर्ष ०.२८ देखि ४.२८ मिलियन मेट्रिकटन माइक्रोफाइबर वातावरणमा मिसिन्छ। यसको करिब ३५ प्रतिशत हिस्सा कपडा धुने प्रक्रियाबाट निस्कने सूक्ष्म फाइबरले ओगट्छ। हरेक पटक पोलिएस्टर वा सिंथेटिक कपडा धुँदा हजारौं सूक्ष्म प्लास्टिकका कण पानीसँगै नदी र समुद्रमा पुग्छन्। यी कण जलचर जीवले खाने गर्छन् र अन्ततः खाद्य श्रृंखलामार्फत मानव शरीरमै प्रवेश गर्छन्। अनुसन्धानकर्ताहरूले फास्ट फेसनको बढ्दो प्रवृत्तिले यो संकटलाई झन् तीव्र बनाउने चेतावनी दिएका छन्।
नेपाल पनि यस समस्याबाट अछुतो छैन। बुढीखोला, चतरा नहर र केशलिया नदीको किनारमा फास्ट फेसनसँग सम्बन्धित फोहोरका थुप्रा सजिलै देख्न सकिन्छ। कपडाका टुक्रा, प्लास्टिक मिश्रित धागो, रसायनिक रंग मिसिएको पानी तथा पोलिएस्टरका जालो नदी किनारमा थुप्रिएका भेटिन्छन्। सुनसरीको खनार, सोनापुर र दुहवी क्षेत्रमा रहेका कपडा रङ्गाउने तथा रसायन उत्पादन गर्ने उद्योगबाट बिना प्रशोधन रङ्गीन फोहोरपानी सिधै खोलानाला र खुला जमिनमा फालिने गरिएको स्थानीयहरू बताउँछन्। वर्षायाममा यही दूषित पानी खेतबारीसम्म पुग्ने र जमिनको उर्वराशक्ति घटाउने समस्या पनि देखिएको छ।
केशलिया नदी आसपासका स्थानीय रामचन्द्र यादव भन्छन्, “मान्छे आउँछन्, फोहोर थुपार्छन् अनि जान्छन्।” उनका अनुसार पछिल्ला वर्षहरूमा नदी किनारमा कपडाजन्य फोहोर अत्यधिक बढेको छ। कतिपय स्थानमा जलाइएका कपडाबाट निस्कने धुवाँले वायु प्रदूषण समेत बढाएको छ। स्थानीय समुदायले पटक–पटक गुनासो गरे पनि दीर्घकालीन समाधान हुन सकेको छैन।
नेपालको कपडा बजारमा भारत र चीनको अत्यधिक प्रभुत्व छ। विश्व बैंकको तथ्याङ्क अनुसार नेपालमा आयात हुने करिब ८९ प्रतिशत कपडा यिनै दुई देशबाट आउँछन्। तर आधिकारिक तथ्याङ्कले अवैध रूपमा भित्रिने कपडालाई समेट्दैन। सीमावर्ती क्षेत्रबाट सस्तो रेडिमेड कपडा ठूलो परिमाणमा भित्रिने गरेको व्यापारीहरू नै स्वीकार गर्छन्। सरकारी नियमन कमजोर हुँदा रसायनिक परीक्षणबिनै यस्ता कपडा बजारमा पुग्ने गरेका छन्। युरोपेली मुलुकहरूमा प्रतिबन्धित एजो डाई र फर्थालेटयुक्त कपडा नेपाली बजारमा खुलेआम बिक्री भइरहेका उदाहरण प्रशस्तै छन्।
दुहवीका स्थानीय कपडा व्यापारी रवीन्द्र साह भन्छन्, “राम्रो लुगा महँगो हुन्छ, ग्राहकले सस्तो खोज्छन्। गुणस्तरभन्दा पनि ग्राहकले ट्रेन्ड र दाम हेर्छन्।” वास्तवमा बढ्दो महँगीका कारण धेरै उपभोक्तासँग सस्तो कपडा किन्नुको विकल्प छैन। मध्यम तथा निम्न आय भएका परिवारका लागि फास्ट फेसन सहज र आकर्षक देखिन्छ। यही आर्थिक वास्तविकताले वातावरणीय सचेतनालाई कमजोर बनाइदिएको छ।
यद्यपि, केही सकारात्मक पहलहरू पनि देखिन थालेका छन्। काठमाडौंसहित विभिन्न शहरमा थ्रिफ्ट स्टोर र अनलाइन थ्रिफ्ट पेजहरूको लोकप्रियता बढ्दै गएको छ। पुराना कपडा पुनः प्रयोग गर्ने, साटासाट गर्ने वा रिसाइकल गर्ने संस्कृतिले विस्तारै स्थान पाउन थालेको छ। केही युवाहरू “सस्टेनेबल फेसन” अभियानमार्फत कम किन्ने, लामो समयसम्म प्रयोग गर्ने र स्थानीय उत्पादनलाई प्राथमिकता दिने सन्देश फैलाइरहेका छन्। यस्ता प्रयास अहिले साना देखिए पनि भविष्यका लागि सम्भावनायुक्त छन्।
फास्ट फेसनको संकट समाधानका लागि केवल उपभोक्तालाई दोष दिएर पुग्दैन। सरकार, उद्योग र उपभोक्ता सबैले साझा जिम्मेवारी लिनुपर्छ। कपडामा प्रयोग हुने रसायनको परीक्षण अनिवार्य बनाउनु, फोहोर व्यवस्थापन कडा गर्नु, पुनः प्रयोग र रिसाइकल उद्योगलाई प्रोत्साहन गर्नु तथा वातावरणमैत्री उत्पादनलाई प्राथमिकता दिनु आवश्यक छ। साथै, उपभोक्ताले पनि “सस्तो र धेरै” भन्दा “टिकाउ र आवश्यक” रोज्ने बानी विकास गर्नुपर्छ।
किनभने एउटा सस्तो टिसर्टको वास्तविक मूल्य पसलको ट्यागमा होइन, नदीको प्रदूषण, विषाक्त हावा र भविष्यको वातावरणीय संकटमा लुकेको हुन्छ।




















