काठमाडौं - नेपाल शिक्षक महासंघको विवाद समाधान गर्ने भन्दै विशेष राष्ट्रिय परिषद् बसेको ३ दिनमा उल्टै वक्तव्यबाजी शुरु भएको छ । कुनै पनि तहका समितिमा रहेका सेवा निवृत्त व्यक्ति स्वतः पदमुक्त हुने निर्णय भएको उल्लेख गर्दै सहअध्यक्ष र महासचिवले हस्ताक्षर गरी सबै प्रदेश, जिल्ला र स्थानीय समितिलाई गरेको परिपत्रलाइ काउण्टर दिदैं अध्यक्षकै हैसियतमा बाबुराम थापाले मंगलबार तीनै तहलाई जानकारी पठाएका छन् । 

गत फागुन २९ गते सम्पन्न महासंघको विशेष राष्ट्रिय परिषद्ले गरेको निर्णयको हवाला दिदैं सहअध्यक्ष पूर्णप्रसाद दवाडी र महासचिव लक्ष्मीकिशोर सुवेदीले परिपत्र गरेका थिए । सेवाबाट निवृत्त भएर पनि केन्द्रिय अध्यक्ष थापाले नेतृत्व नछाडेका कारण उत्पन्न विवादलाई परिषद्ले निरुपण गरेको थियो । विधानमा भएको व्यवस्था र यस अघिको सहमती विपरित अध्यक्ष कायम रहिरहने बाबुराम थापाको ईच्छालाई रोक्दै परिाषद्ले नयाँ नेतृत्वको बाटो खुला गरेको उनीहरुको दावी थियो ।