इटहरी । लागूऔषधविरुद्ध युवामाझ चेतना फैलाउँदै खेलकुदमार्फत स्वस्थ र सकारात्मक जीवनशैलीप्रति आकर्षित गर्ने उद्देश्यले तरहरामा आर्म रेस्लिङ प्रतियोगिता सम्पन्न भएको छ।
तरहरा स्पोर्ट्स क्लब इटहरी–२० को आयोजनामा शनिबार इटहरी–२० स्थित तरहरा साझा लाइनको रिजन होटल बाँसघारी कटेजमा ‘Say No to Drugs, We Are Against Drugs’ भन्ने नारासहित ‘तरहरा आर्म रेस्लिङ कम्पिटिसन’ आयोजना गरिएको हो।

युवाहरूलाई लागूऔषध तथा कुलतबाट टाढा राखी खेलकुद र सिर्जनात्मक गतिविधिमा सहभागी गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न तौल समूहका खेलाडीबीच उत्साहजनक प्रतिस्पर्धा भएको थियो।
तरहरा स्पोर्ट्स क्लबका अध्यक्ष विभश विष्ट (राजा)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा धरान एकता समाजका संस्थापक संरक्षक तथा नेपाली कांग्रेसका युवा नेता सन्दीप श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा तरुण दल सुनसरीका सभापति सिजन गुरुङ, उद्धार सुधार केन्द्रका सञ्चालक खगेन्द्र क्षेत्रीलगायतको उपस्थिति रहेको थियो।
प्रतियोगितामा ६०, ७०, ८० र ८० केजीभन्दा माथि गरी चार तौल समूहमा खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए। प्रत्येक विधाका विजेतालाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो।
६० केजी समूहमा मण्डिप राई प्रथम, करण सोरेन द्वितीय र सारण चौधरी तृतीय भए। ७० केजी समूहमा सुदीप तामाङले पहिलो स्थान हासिल गर्दा संयोग राउत द्वितीय र मोहित कुमार तृतीय बने।
त्यसैगरी ८० केजी समूहमा मौसम लिम्बू प्रथम, दुर्गा श्रेष्ठ द्वितीय र रोशन न्यौपाने तृतीय भए। ८० केजीभन्दा माथिको समूहमा प्रमिश बिष्ट प्रथम, पंकज शाह द्वितीय र युदिन लिम्बू तृतीय भएका छन्।

प्रतियोगिताको मुख्य आकर्षणका रूपमा रहेको C.O.C. उपाधि भने मौसम लिम्बूले हात पारे। ८० केजी समूहमा उत्कृष्ट प्रदर्शन गरेका लिम्बूले समग्र C.O.C. विजेता बन्दै थप ४ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।
प्रतियोगितामा प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय खेलाडीलाई क्रमशः ७ हजार ५ सय, २ हजार ५ सय र १ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। आयोजकका अनुसार प्रतियोगितामा ५० हजार रुपैयाँभन्दा बढीको पुरस्कार राशि राखिएको थियो।
खेलाडीको सहभागिता र उत्साहलाई थप प्रोत्साहन गर्न प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो। यस्तै, लकी ड्रमार्फत १० जना भाग्यशाली सहभागीलाई ‘Aqua Wave’ को निःशुल्क स्विमिङ टिकट प्रदान गरिएको आयोजकले जनाएको छ।
खेलकुदलाई मनोरञ्जनसँगै सामाजिक सचेतनाको माध्यम बनाउँदै युवालाई सकारात्मक बाटोमा अघि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ।




















