काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चार समस्याग्रस्त सहकारीका १०५ जना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखर सहकारीका ३५, ओरियन्टल को–अपरेटिभका २, तुलसी सहकारीका १३ र कान्तिपुर सहकारीका ५५ जना साना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका हुन्।

समितिले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित पीडित बचतकर्तालाई फिर्ता गर्ने कार्यलाई तीव्रता दिएको जनाएको छ।

सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै बचतकर्तालाई फिर्ता गर्ने स्पष्ट पारेको छ। पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको समितिको भनाइ छ।

समितिका अनुसार बचतकर्ताको बचत रकमका आधारमा वर्गीकरण गर्दै आगामी चरणमा पनि क्रमशः रकम फिर्ता गरिनेछ। यसका लागि समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली, सम्पत्ति व्यवस्थापन तथा अन्य कानुनी प्रक्रियाबाट रकम जुटाउने काम भइरहेको छ।

समस्याग्रस्त सहकारी संस्थाका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर सञ्चालन भइरहेको समितिले जनाएको छ।