इटहरी । इटहरी जेसीजको आयोजनामा ‘Jaycees Week–2026’ अन्तर्गत आइतबार इटहरीमा सम्पन्न ‘The Wheels of Hope – Wheelchair Run 2.0’ प्रतियोगितामा झापाका प्रज्वल योङ्गहाङ्ग प्रथम भएका छन्।

प्रतियोगितामा मोरङका संजिव लिम्बु दोस्रो तथा संखुवासभाका सुजन थापा तृतीय भएका छन्। प्रतियोगिता इटहरीको धरान लाइनस्थित कुटी रेस्टुरेन्ट अगाडिबाट सुरु भएको थियो।

1F4A7178

प्रतियोगितामा प्रथम भएका प्रज्वल योङ्गहाङ्गलाई अल्फाबेटा इन्स्टिच्युटले नगद ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरेको थियो। त्यस्तै, दोस्रो भएका संजिव लिम्बुलाई सीए जेसी आशिष अग्रवालले नगद ६ हजार रुपैयाँ तथा तृतीय भएका सुजन थापालाई जेसीजका पूर्वअध्यक्ष सोमनाथ गौतमले नगद ४ हजार रुपैयाँ पुरस्कार प्रदान गरेका थिए।

त्यसैगरी, प्रतियोगिताका सम्पूर्ण विजेताहरूलाई अरवानी फुड्सले आफ्नै उत्पादनको शुद्ध मह समेत प्रदान गरेको आयोजकले जनाएको छ। अरवानी फुड्सका शेखर दवाडीका अनुसार विजेताहरूलाई प्रोत्साहनस्वरूप आफ्ना उत्पादन उपलब्ध गराइएको हो।

1F4A7167

‘The Wheels of Hope – Wheelchair Run 2.0’ प्रतियोगिताको संयोजन इटहरी जेसीजका जेसी अनोज पोखरेलले गरेका थिए।पोखरेलको संयोजनमा सम्पन्न प्रतियोगितामा विभिन्न जिल्लाबाट सहभागी भएका ह्विलचेयर खेलाडीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। 

इटहरी जेसीजले ‘Developing Leaders for a Changing World’ भन्ने मूल भावनासहित आयोजना गरेको Jaycees Week–2026 अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोही क्रममा आयोजना गरिएको Wheelchair Run ले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता, आत्मविश्वास र सामाजिक सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।

प्रतियोगिताले अपाङ्गता भएका व्यक्तिहरूलाई अवसर र सम्मान प्रदान गर्दै समावेशी समाज निर्माणको सन्देश प्रवाह गरेको छ। सहभागीहरूले ह्विलचेयरमार्फत दौडमा सहभागिता जनाउँदै आफ्नो क्षमता प्रदर्शन गरेका थिए।

इटहरी जेसीजका अनुसार ‘The Wheels of Hope’ कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूप्रति समाजको सकारात्मक दृष्टिकोण विकास गर्नुका साथै उनीहरूको प्रतिभा र क्षमतालाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ।


1F4A7158

इटहरी जेसीजले युवामा नेतृत्व विकास, ज्ञान अभिवृद्धि, प्रतिस्पर्धात्मक क्षमता तथा आपसी सहकार्य बढाउने उद्देश्यले जेसीज सप्ताहअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। ‘Developing Leaders for a Changing World’ भन्ने मूल भावनाका साथ सञ्चालन भइरहेको सप्ताहमा वक्तृत्वकला, धार्मिक हाजिरीजवाफ, स्वास्थ्य शिविर, शिक्षा तथा सामाजिक सेवासहित विभिन्न कार्यक्रम समावेश छन्। यसअघि जेसीज सप्ताहअन्तर्गत धार्मिक हाजिरीजवाफ प्रतियोगिता पनि इटहरीको वृद्ध चौतारीमा सम्पन्न भएको थियो। कुशे औँसी अर्थात् बुवाको मुख हेर्ने दिनको अवसरमा आयोजित उक्त कार्यक्रममा ज्येष्ठ नागरिकलाई खिर खुवाउनुका साथै १६ वटा प्रश्न समावेश गरिएको हाजिरीजवाफ प्रतियोगितामा सही उत्तर दिने १६ जनालाई पुरस्कार वितरण गरिएको थियो।

1F4A7228

इटहरी जेसीजका अध्यक्ष जेसी मिसन पराजुली, प्रमुख सह–समन्वयक/EVP जेसी प्रमोद घिमिरे (भान्जा) तथा महासचिव जेसी टंकमणि न्यौपाने (रबिन) रहेका छन्।

यसैबीच Jaycees Week–2026 को अन्तिम दिन ‘Leaders for Tomorrow’ तथा समापन समारोह आयोजना हुने भएको छ। कार्यक्रम भदौ ३१ गते दिउँसो २ः३० बजेदेखि इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा हुने आयोजकले जनाएको छ। समापन समारोहमा सप्ताहअन्तर्गत आयोजना गरिएका विभिन्न कार्यक्रमको समीक्षा तथा उपलब्धिको प्रस्तुतिसहित कार्यक्रम सम्पन्न गरिनेछ। उक्त कार्यक्रममा सम्पूर्ण जेसीज सदस्य, युवा, शुभेच्छुक, सामाजिक संघ–संस्था तथा सरोकारवालालाई इटहरी जेसीजले उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।