इटहरी । रामधुनी नगरपालिकाले लिएको सहायक कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजालाई लिएर उठेको विवाद थप चर्किएको छ । नतिजामा नातावाद तथा कृपावाद हाबी भएको आरोप लगाउँदै निष्पक्ष छनोटको माग गरिरहेका भिम लुइटेलसहितका पक्षले नगरपालिकाको कार्यालयमा ताला लगाएका छन् ।
लुइटेलले नगरपालिकाको बेथिति तथा नगर प्रमुखको गैरजिम्मेवार कार्यशैलीको विरोधमा ताला लगाइएको बताएका छन् । उनले समस्या समाधान नभएसम्म ताला नखोलिने जानकारी दिएका छन् ।

यसअघि लुइटेलले लिखित परीक्षामा नाम निकालिएका १० जनामध्ये ४ जनाको छनोटलाई लिएर प्रश्न उठाउँदै आवश्यक परे उनीहरूको नामसमेत सार्वजनिक गर्ने बताएका थिए । विवाद बढ्दै गएपछि नगरपालिकाले सहायक कम्प्युटर अपरेटरको प्रयोगात्मक तथा अन्तर्वार्ता परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।

लुइटेलले योग्यताका आधारमा निष्पक्ष छनोट हुनुपर्ने माग गर्दै उठाइएका विषयमा तत्काल सम्बोधन गर्न नगरपालिकासँग आग्रह गरेका छन् । समस्या समाधान नभएसम्म विरोध जारी रहने उनको भनाइ छ ।




















