इटहरी । दुर्घटनाका कारण बीचमै छाड्नुपरेको चलचित्रमा पुनः मुख्य भूमिकामा फर्किन पाउनु कलाकार सोनम तोप्देनका लागि संयोग मात्रै होइन, एउटा अविस्मरणीय जीवन अनुभव बनेको छ । आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘जलाकी’ मा सोनम मुख्य पात्रका रूपमा दर्शकमाझ आउँदैछन् ।
सन् २०२५ जुन महिनामा ढोरपाटनमा चलचित्र ‘ऐरी’ को एक्सन दृश्य छायांकन गर्ने क्रममा सोनमको देब्रे खुट्टा भाँचिएको थियो । गम्भीर चोट लागेपछि उनलाई हेलिकप्टरमार्फत उद्धार गरी पोखरास्थित चरक मेमोरियल अस्पताल पुर्याइएको थियो । चिकित्सकले कम्तीमा छ महिना आराम गर्नुपर्ने बताएपछि उनले आफूले अभिनय गर्न चाहेको चलचित्र ‘जलाकी’ छाड्नुपरेको थियो ।
सोनमको अनुपस्थितिमा निर्माण टिमले अभिनेता धीरज मगरलाई मुख्य भूमिकामा अनुबन्ध गरेको थियो । आफूले मन पराएको कथाबाट टाढिनुपर्दा दुःखी भए पनि सोनम चलचित्रसँग जोडिइरहने चाहना राख्थे । महिनौँको फिजियोथेरापीपछि स्वास्थ्यमा सुधार आउँदै गर्दा निर्देशक अशोक थापा मगरले उनलाई सहायक भूमिकामा अभिनय गर्ने प्रस्ताव गरे । त्यसबाट खुसी भएका सोनम अन्ततः चलचित्रको मुख्य भूमिकामै फर्किन सफल भए ।
छायांकनको समय लम्बिँदै जानु र आफ्नो स्वास्थ्यमा सुधार हुँदै जानुले उनलाई पुनः मुख्य भूमिकामा फर्किने अवसर जुराएको थियो । निर्माण टिम र धीरज मगरबीचको आपसी समझदारीपछि सोनमलाई मुख्य पात्र ‘लाजिम’ का रूपमा प्रस्तुत गर्ने निर्णय भएको हो ।
आफ्नो पुनरागमनलाई भाग्यसँग जोड्दै सोनमले दुर्घटनाले केही समय चलचित्रबाट टाढा बनाए पनि अन्ततः आफू त्यही कथामा फर्किन पाएको बताएका छन् । चलचित्र ‘शाम्बाला’ मा उनको अभिनय रुचाइएपछि निर्देशक अशोक थापा मगरले ‘जलाकी’ का लागि प्रस्ताव गरेका थिए ।
सोनमका लागि ‘जलाकी’ एउटा चलचित्र मात्र नभई नेपाली भाषा, कला र संस्कृतिसँग अझ नजिकिने अवसर पनि हो । भारतको मनालीमा जन्मिएका उनले बाल्यकालका नौ वर्ष गुम्बामा बिताएका थिए । पारिवारिक जिम्मेवारीका कारण १० वर्षको उमेरमै सांसारिक जीवन रोजेका सोनमले पछि संगीत हुँदै नेपाली चलचित्र क्षेत्रमा आफ्नो यात्रा सुरु गरेका हुन् ।

२०७२ सालको भूकम्पपछि ‘स्म्युल’ एपमार्फत विभिन्न हिन्दी गीतका कभर गाएर चर्चामा आएका सोनमले ‘हवायें’, ‘जीना जीना’, ‘दिल दियाँ गलाँ’ लगायतका गीतबाट श्रोताको मन जितेका थिए । नेपाली, तिब्बती तथा भुटानी गीतमा समेत स्वर दिएका उनले चलचित्र ‘सम्हालिन्छ कहिले मन’ बाट अभिनय यात्रा सुरु गरेका थिए ।
यसअघि ‘सम्हालिन्छ कहिले मन’ को ‘जरुरी कुरा छ’ गीतमा पूजा शर्मासँग देखिएका सोनम पछिल्लो समय ‘जलाकी’ का गीतहरूमा अभिनेत्री उपासना सिंह ठकुरीसँगको जोडीका कारण पनि चर्चामा छन् । ‘चाँदी जलप’, ‘जाले रुमाल मायालाई’, ‘कलेजीको छेउ’ र ‘पहिलो माया’ लगायतका गीतमा उनको प्रस्तुति दर्शकले रुचाएका छन् ।
मगर समुदायको संस्कृति, परम्परा र परिवेशमा आधारित ‘जलाकी’ लाई सोनमले मौलिक प्रेमकथाका रूपमा व्याख्या गरेका छन् । मगर समुदायमा माया र सम्झनाको प्रतीक मानिने ढुंगाको स्तम्भ ‘जलाकी’ ले चलचित्रको कथालाई भावनात्मक रूपमा जोडेको उनको भनाइ छ ।
नेपाली दर्शकमाझ अझै आफ्नो पहिचान स्थापित गर्न बाँकी रहेको बताउने सोनमले यस चलचित्रले आफूलाई नेपाली दर्शकको मनसम्म पुर्याउने विश्वास व्यक्त गरेका छन् । चलचित्रमा अभिनयसँगै उनले पार्श्व गायनमा समेत स्वर दिएका छन् ।
अशोक थापा मगरको लेखन तथा निर्देशनमा बनेको त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘जलाकी’ मा सोनम तोप्देन र उपासना सिंह ठकुरी मुख्य भूमिकामा छन् । दुर्घटनापछि पुनः मुख्य भूमिकामा फर्किएको सोनमको यात्रा र मगर संस्कृति तथा प्रेमको मौलिक कथाले चलचित्रलाई दर्शकमाझ थप चासोको विषय बनाएको छ ।




















